मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

हाम्रो संस्कृति अमूल्य पहिचानः अध्यक्ष वाइवा  

रुद्रबहादुर खड्का, सिन्धुली ।

हरिहरपुरगढी गाउँपालिका कार्यालय झनझनेमा तामाङ जातिको बाजा (डम्फु) बनाउने २० दिने तालिम सम्पन्न भएको छ ।

तालिममा स्थानीय तह भरिका तामाङ समुदायका २० जना सहभागी भएका थिए । सो तालिम २०८२ भदौ १९ गतेदेखि असोज ७ गतेसम्म सञ्चालित भएको थियो ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम गाउँपालिकाका अध्यक्ष वाइबाले तामाङ समुदायको सांस्कृतिक अधिकार एवम् रीतिरिवाज, परम्परागत डम्फु बाजाको संरक्षणसँगै उक्त बाजा बनाउने सीप विकासमा तालिम उपयोगी रहेको बताउनु भयो ।

हाम्रो संस्कृति अमूल्य पहिचान हो भन्ने कुरा उल्लेख गर्नुहुँदै तामाङ मात्रै नभई गाउँपालिका भित्र रहेका सम्पूर्ण जनतजातिहरूको संस्कृति र संस्कार जगेर्ना गर्नको लागि गाउँपालिकाले कार्यक्रम आयोजना गरिने बताउनु भयो ।

उहाँले तालिममा सहभागीहरूले डम्फु बनाएर बिक्री गरी आयआर्जन र सीप विकास गर्नसक्ने बताउनु भयो । डम्फुको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जाहेर गर्नु भयो ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमअनुसार सीप विकास तालिमको आयोजना गरिएको प्रमुख ध्रुवप्रसाद ढकालले सहभागीहरूले उत्साहपूर्वक सीप सिकेको भन्दै खुसी व्यक्त गर्नु भयो ।

वर्षभरिमा विभिन्न सीपमूलक तालिम सिकाइने र युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा तालिम प्रदान गरिँदै आएको जानकारी गराउनु भयो ।

सोही कार्यक्रमअन्तर्गत तामाङ समुदायको बाहुल्यता रहेको सो ठाउँमा मागअनुसार संस्कृतिको जगेर्नासँगै स्वआर्जनमा सहयोग गर्ने उद्देश्यले डम्फु बनाउने तालिम प्रदान गरिएको उहाँले बताउनु भयो ।

उहाँले तालिममा सहभागीहरूलाई सिकेको सीप उपयोग गर्नसमेत आग्रह गर्नु भयो । तालिममा लिलाबहादुर स्याङ्तानले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो ।

उहाँले सांस्कृतिक एवम् परम्परागत बाजाको संरक्षणमा गरिएको यो पहल प्रशंसानीय भएको बताउनुभयो । डम्फु बनाउने परम्परागत सीप युवाहरूलाई सिकाउन पाउँदा आफूलाई खुसी लागेको प्रशिक्षक स्याङ्तानले बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष कमलकुमार राई, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङ, २ नम्बर वडाका अध्यक्ष विश्व राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा, ६ नम्बर वडाका अध्यक्ष एकबहादुर मोक्तान, ७ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान, ८ नम्बर वडाका अध्यक्ष धनबहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

Author

Related News