मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बालबालिकाको वस्तुस्थिति विवरणका लागि सरोकारवालासँग अभिमुखीकरण

रुद्रबहादुर खड्का, सिन्धुली ।

कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा वडाभित्र रहेका बालबालिकाको वस्तुस्थिति विवरण तयारीका लागि सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडालाई २०८३ जेठसम्म बालमैत्री वडा घोषणा गर्ने लक्ष्यअनुसार सरोकारवालाहरूको सक्रिय सहभागितामा कार्यक्रम आज सम्पन्न भएको हो ।

बालमैत्री वडा घोषणाका पाँच चरणमध्ये पूर्वतयारी चरणअन्तर्गत बालबालिकाको वस्तुस्थिति विवरण तयार गरी बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू पूरा गर्न आवश्यक प्रमाण सङ्कलन तथा अवस्था पहिचानका लागि बाल प्रोफाइल निर्माण गर्नु पर्ने भएकाले उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा गणकहरूलाई तथ्याङ्क सङ्कलन प्रक्रिया तथा बालमैत्री स्थानीय शासनले निर्धारण गरेका प्रश्नावलीका विषयमा जानकारी गराउनुका साथै तथ्याङ्क सङ्कलनका लागि कार्ययोजना समेत निर्माण गरिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम वडा कार्यालयले विगतका वर्षदेखि नै बाल अधिकार र बाल संरक्षणसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको वडा सचिव सुमित्रा चौहानले जानकारी दिनु भयो ।

उहाँका अनुसार हालसम्म समुदाय तथा विद्यालयस्तरमा बाल क्लब गठन, नियमित बैठक सञ्चालन, बाल अधिकार आचारसंहिता निर्माण, बालमैत्री स्थानीय शासन समिति गठन तथा समुदाय र सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन हुनुका साथै बाल क्लब तथा बाल अधिकार समितिहरूले सक्रिय रूपमा विभिन्न कार्य गरिरहेका छन् ।

बालबालिकामा आज गरिएको लगानीले भविष्य उज्यालो बनाउने र समाज तथा देश निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै वडा अध्यक्ष विनोद प्रधानले समुदायमा सकारात्मक सोच विकासका लागि बालमैत्री स्थानीय शासन घोषणालाई सबै व्यक्ति र संस्थाको सहकार्यमा सफल बनाउनु पर्ने धारणा राख्नु भयो ।

उहाँले २०८३ जेठ महिनाभित्र वडा नम्बर ९ लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

Author

Related News