मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण तालिम

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को संयुक्त आयोजनामा निर्वाचन पर्यवेक्षकहरूका लागि अभिमुखीकरण तालिम २०८२ फागुन १५ गते पोखरामा सम्पन्न भएको छ ।

इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले लोकतन्त्रको स्थायित्वका लागि शान्तिपूर्ण चुनावी वातावरण, स्वच्छ प्रतिस्पर्धा र मतदाताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता र पारदर्शिता कायम राख्न निर्वाचन पर्यवेक्षणको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भयो ।

भण्डारीका अनुसार विगतदेखि नै इन्सेकले निर्वाचन पर्यवेक्षण गर्दै आएको र आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का सन्दर्भमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्लामा २२ जना प्रतिनिधिमार्फत पर्यवेक्षण गरिनेछ ।

कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय गण्डकी का प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले गण्डकी प्रदेशमा निर्वाचनको तयारी पूरा भइसकेको र मतदान सामग्री वितरण मात्र बाँकी रहेको जानकारी दिनु भयो ।

उहाँले निर्वाचन आयोगद्वारा जारी निर्वाचन निर्देशिका २०७९ को दफा २६ र २७ अनुसार पर्यवेक्षण संस्था र पर्यवेक्षकको अधिकार तथा दायित्व स्पष्ट गरिएको स्मरण गराउँदै खटाइएको स्थानमै पर्यवेक्षण गर्न आग्रह गर्नु भयो ।

सामाजिक सञ्जाल र प्रविधिको बढ्दो प्रयोगका कारण प्रचारप्रसारमा विशेष सतर्कता आवश्यक रहेको उहाँको भनाइ थियो ।

निर्वाचन पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताबारे उल्लेख गर्दै सरकारी वा सार्वजनिक निकायका स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नहुने बताइएको थियो ।

कार्यक्रममा नागरिक समाज गण्डकी तथा नियोक गण्डकीका संयोजक विष्णुप्रसाद बरालले स्वच्छ निर्वाचनका लागि नागरिकस्तरको अभियान सशक्त हुनुपर्ने बताउनु भयो ।

उहाँले मतदानअघि, मतदानका दिन र मतदानपछि समेत पर्यवेक्षकहरूको महत्वपूर्ण दायित्व रहने उल्लेख गर्दै निष्पक्षताका लागि जिम्मेवार र जवाफदेही भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।

अभिमुखीकरणमा मतदान केन्द्र तथा मतगणना स्थलमा प्रवेश गर्दा मतदान अधिकृतको अनुमति लिनुपर्ने, निर्वाचन परिणाम घोषणा गर्दा मुचुल्का प्रक्रियाको अवस्थालाई सूक्ष्म रूपमा अवलोकन गर्नुपर्ने तथा मतदातालाई मतदान स्थलमा प्रवेश गर्न अवरोध भएमा यथाशीघ्र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, राष्ट्रिय मानवअधिकार आयोग पोखरा कार्यालय प्रमुख नितु गर्तौला, गैसस महासङ्घ गण्डकी प्रदेश समिति अध्यक्ष पदमराज पहारी तथा कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवालले निर्वाचनको स्वच्छता र मानवअधिकार संरक्षणका सन्दर्भमा आआफ्ना धारणा राख्नुभएको थियो ।

तालिममा इन्सेक र नियोकसँग आबद्ध ३५ जना पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

Author

Related News