मानव आवाज

२०८३ जेष्ठ ३१ गते
00: 00: 00
२०८३ जेष्ठ ३१ गते

शिक्षक हित साकोसद्वारा वित्तीय साक्षरता अभिवृद्धिका लागि अभिमुखीकरण

ललितपुर। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (शिक्षक हित साकोस), ललितपुरले आफ्ना शेयर सदस्यहरूको वित्तीय साक्षरता अभिवृद्धि तथा सहकारी सेवाप्रति थप जानकारी गराउने उद्देश्यले ‘बचत तथा ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरेको छ ।

ललितपुरमा २०८३ जेठ ३१ गते आयोजित कार्यक्रममा ९५ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

संस्थाको ऋण उपसमिति र शिक्षा उपसमितिको संयुक्त संयोजनमा सम्पन्न कार्यक्रममा प्रशिक्षक तेजप्रसाद बजगाईले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीको उद्देश्य, सदस्य केन्द्रित सेवा तथा सञ्चालनमा रहेका विभिन्न कार्यक्रमबारे जानकारी गराइएको थियो ।

ऋण उपसमिति संयोजक गिरिप्रसाद तिमिल्सिनाले सहकारीले सदस्यहरूको आर्थिक व्यवस्थापनमा सहयोग पुर्‍याउनुका साथै बचत संस्कृतिको विकास, खर्च व्यवस्थापन तथा पेसागत दक्षता अभिवृद्धिका लागि तालिम र गोष्ठी सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने तथा सदस्यहरूबीच अनुभव आदानप्रदान र सहकार्यको वातावरण निर्माण गर्ने कार्यलाई पनि प्राथमिकता दिएको छ ।

अभिमुखीकरणका क्रममा सहकारीले सञ्चालन गर्दै आएका विभिन्न सामाजिक तथा सदस्य हितका कार्यक्रमबारे समेत जानकारी गराइएको थियो ।

संस्थाले बचत सङ्कलन र कर्जा प्रवाहका अतिरिक्त स्वास्थ्य उपचार सहयोग, महिला सदस्यका लागि सुत्केरी भत्ता, ज्येष्ठ सदस्य सम्मान तथा शैक्षिक सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

संस्थाका सचिव सुरेन्द्रकुमार घिमिरेले यस्ता कार्यक्रमले सदस्यहरूमा वित्तीय सचेतना बढाउनुका साथै सहकारीका सेवा र सुविधाबारे स्पष्ट बुझाइ विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा उपसमिति संयोजक देवीप्रसाद दुलालले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र सहकारीबिचको सम्बन्ध तथा सहकारी क्षेत्रको वर्तमान अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।

संस्थाका अध्यक्ष शुक्र थापाका अनुसार हाल शिक्षक हित साकोसमा १ हजार ९ सय ४६ सदस्य आबद्ध रहेका छन् भने करिब ५ सय १० जना ऋणी सदस्य रहेका छन् ।

सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधिहरू विस्तार गर्दै आएको जनाएको छ ।

Author

Share the News

Recent News

Related News