पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय जनसङ्ख्या नीति–२०८२ को सार्वजनिकीकरण तथा प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा जिआईजेट जर्मनीको प्राविधिक सहयोगसहित कार्यक्रम २०८२ पुष १८ गते पोखरा महानगरपालिका–१७, दोभिलामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि मानव पुँजी नै प्रमुख आधार भएको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, उद्यमशीलता र उत्पादनशील मानव पुँजी विकासमा ठूलो लगानी गरिरहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा सुधारसँगै सुशासन, नीति प्राथमिकता, कार्यसम्पादनमा एकता र नागरिकमैत्री सेवा प्रवाह आवश्यक रहेकोमा जोड दिनु भयो ।
मन्त्री पाठकले गर्भवती, सुत्केरी र शिशु स्याहारसम्बन्धी विशेष कार्यक्रम सञ्चालनमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै सेवाप्रवाहको गुणस्तर, अनुगमन र नागरिकले महसुस गर्ने सेवा सुनिश्चिततामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनसङ्ख्या व्यवस्थापन महाशाखाका सह–सचिव हेमराज सुवेदीले राष्ट्रिय जनसङ्ख्या नीति–२०८२ का विशेषता र समग्र विषयवस्तुमाथि प्रस्तुति दिनुभएको थियो भने उप–सचिव झविन्द्र पाण्डेले नेपालको समग्र जनसाङ्ख्यिक अवस्थाबारे तथ्यपरक प्रस्तुति गर्नुभएको थियो ।
नीतिले संविधानले प्रत्याभूत गरेका मौलिक हक, दिगो विकास लक्ष्य, सङ्घीय शासन प्रणालीअनुसार तीनै तहका सरकारको जिम्मेवारी, जनगणना २०७८ का तथ्याङ्क, जलवायु परिवर्तन, बसाइँसराइँ, जनसाङ्ख्यिक संरचना र प्रविधिगत परिवर्तनलाई समेट्दै समावेशी र वैज्ञानिक दृष्टिकोण अवलम्बन गरेको उल्लेख गरिएको छ ।
नीतिमा युवा सशक्तीकरण, जनसाङ्ख्यिक लाभांशको उपयोग, महिला तथा लक्षित समुदायको संरक्षण, ज्येष्ठ नागरिकको सम्मान, सुरक्षित आप्रवासन, जनसङ्ख्यिक प्रभाव मूल्याङ्कन, एकीकृत तथ्याङ्क प्रणाली, आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोगजस्ता विषयहरू समावेश छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार, सञ्चार तथा समन्वय महाशाखा सचिव कृष्णप्रसाद लम्साल, विभिन्न मन्त्रालयका सचिवहरू तथा अधिकारीहरूले नीतिको कार्यान्वयनप्रति प्रतिबद्धता व्यक्त गर्दै नीतिका सूचकहरू सकारात्मक रहेको धारणा राख्नु भयो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सोनालक्ष्मी कर्माचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सङ्घसंस्था, विकास साझेदार, जिआईजेटका प्रतिनिधि, जनसङ्ख्या विज्ञ, विश्वविद्यालयका प्रमुख तथा प्रतिनिधि, जनस्वास्थ्य तथा तथ्याङ्क समन्वय कार्यालयका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।