पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य सङ्घ र व्यवसाय प्रवर्धन केन्द्र, पोखरा महानगरपालिकाको सहकार्यमा सीपयुक्त जनशक्तिको परिचालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८२ चैत ११ गते सम्पन्न भएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष गोकर्ण कार्कीले सिप तालिम तथा रोजगारीको क्षेत्रमा कार्यरत वा अनौपचारिक रूपमा सिप हासिल गरेका कामदार, श्रमिकका सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू, स्थानीय रोजगारदाता तथा व्यवसायीहरूसँग समन्वय गर्दै सीपयुक्त जनशक्ति परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
साथै, अभिमुखीकरणसँगै फाराम भर्ने कार्यमा सहजीकरण गरिएको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश देवकोटा, पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका निर्देशक नवराज अधिकारी तथा चन्द्रप्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा रोजगारदाता र रिकोग्निशन अफ प्रियर लर्निङ ग्राज्युएटबिच अन्तरक्रिया गरिएको थियो ।
यसले सीप र रोजगारीबिचको समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सङ्घकी महासचिव शोभा गौतमले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा श्रमिकका सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू, स्थानीय रोजगारदाता तथा व्यवसायी गरी ९५ जनाको सहभागिता रहेको थियो ।