मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

खाद्य स्वच्छता निर्देशिका २०७४ सम्बन्धी अभिमुखीकरण सम्पन्न

पोखरा । “खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता” भन्ने मूल मन्त्रका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराद्वारा होटल–रेस्टुरेन्ट स्तरीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम २०८२ मङ्सिर २६ गते पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाद्य स्वच्छताको महत्व र खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुरेन्ट स्तरीकरण गर्ने निर्देशिका २०७४ मा रहेका प्रमुख प्रावधानहरूबारे सहजीकरण गर्नुभयो ।

उहाँका अनुसार निर्देशिकामा उल्लेखित बुँदाका आधारमा होटल तथा रेस्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण गरिनेछ ।

प्राप्त अंकका आधारमा होटलहरूलाई स्तरीकरण गरी लोगो प्रदान गरिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख श्रेष्ठले निर्देशिकाबारे व्यवसायी, होटल तथा रेस्टुरेन्ट सञ्चालक तथा किचनमा कार्यरत कर्मचारीहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै सहभागी व्यवसायीहरूलाई आफ्नो व्यवसायमा आवश्यक सुधारका लागि केही समय प्रदान गरिने र त्यसपछि निर्देशिका बमोजिम अनुगमन तथा निरीक्षण गरी स्तरीकरण प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो ।

खाद्य निरीक्षण अधिकृत अशोक गौतमले निर्देशिकाको अनुसूची–१ मा समावेश गरिएको ५० बुँदे चेकलिस्टबारे विस्तृत सहजीकरण गर्नुभएको थियो ।

सिटी रेबान पोखराका अध्यक्ष दीपक तिमल्सिनाले खाद्य पदार्थको स्वच्छता अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै यसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले व्यवसायीहरूका लागि यस्तो कार्यक्रम अत्यन्त फलदायी रहेको बताउनुभयो ।

कार्यक्रममा होटल तथा रेस्टुरेन्ट सञ्चालक तथा किचनमा कार्यरत २१ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

Author

Related News