पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ ले जेन-जी आन्दोलनपछिको क्षतिलाई पुनःस्थापना गर्न सहयोग पुर्याउने सङ्घसंस्था र व्यक्तिहरूलाई २०८२ असोज २४ गते एक कार्यक्रमकाबिच सम्मान गरेको छ ।
गत भदौ २४ गते पोखरामा चर्किएको जेन-जी आन्दोलनको क्रममा वडा नं. १५ को कार्यालयमा आगजनी भई सबै कागजात तथा सामग्री खरानी भएको थियो ।
आन्दोलनको एक महिनाको अवसर पारेर वडाले २५ भन्दा बढी सहयोगी सङ्घसंस्था र व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरेको हो ।
वडाध्यक्ष तोरण बानियाँका अनुसार आन्दोलनको केही दिनभित्रै वडालाई पुनः सञ्चालन गर्न आवश्यक पर्ने सबै जिन्सी तथा प्राविधिक सामग्री प्राप्त भएको छ ।
“हामीले सहयोगको आह्वान गरेको पाँच दिनमै सम्पूर्ण आवश्यक सामग्री प्राप्त भयो । आन्दोलनका क्रममा कार्यालय जलेर नष्ट हुँदा काम कसरी अगाडि बढाउने भन्ने अन्योल थियो । तर, स्थानीय सघसंस्था र व्यक्तिको साथले हामी उत्साहित भएका छौं ।”-उहाँले भन्नु भयो ।
वडाले नगद स्वीकार नगरेको र सबै सहयोग जिन्सी सामग्रीको रूपमा प्राप्त भएको जानकारी पनि उहाँले दिनु भयो । प्राप्त सामग्रीको मूल्य १५ लाख रुपियाँभन्दा बढी रहेको जनाइएको छ ।

सम्मानित सङ्घसंस्था तथा व्यक्तिहरू:
नेपाल रेडक्रस सोसाइटी पोखरा-१५ उपशाखा, मितेरी टोल विकास संस्था, एम्यानुएल स्कूल, हेप्पी होम पोखरा, श्री एन्जल नेपाल, युनाइटेड क्लब, अभिनतारा खानेपानी उपभोक्ता समिति, सिर्जनशील बाल विकास कार्यक्रम, नयाँ गाउँ चर्च, नयाँ आशा नेपाल, नेपाल सुसमाचार केन्द्र, एसओएस चिल्ड्रेन भिलेज गण्डकी, सगोल नेपाल, श्यामा श्यामा सत्सङ्ग राधे राधे, पोखरा कम्युनिटी सेन्टर, भविन्द्र विक, महेन्द्र विक, नगेन्द्र विक, फिङकल इन्टरनेशनल ग्रुप, भिमकुमारी गुरुङ, सङ्गम टोल विकास संस्था, विपन सौगात, ठूलो मजुवा आमा समूह, लक्ष्मी टोल आमा समूह, शशि गुरुङ, शिवशक्ति टोल विकास संस्था, र दिव्य ज्योति युवा क्लब ।
यी सङ्घसंस्थाहरूले वडा कार्यालयको रङ्गरोगन, विद्युत् व्यवस्थापनदेखि कम्प्युटर, प्रिन्टर, कुर्सी, टेबल, दराजलगायतका आवश्यक सामग्रीहरू सहयोग स्वरूप उपलब्ध गराएका थिए ।
कार्यक्रममा सहयोगीहरूको तर्फबाट बोल्दै ठूलो मजुवा आमा समूहकी अध्यक्ष दुर्गा मल्ल ठकुरीले वडा जलाउँदा अत्यन्त दुःख लागेको बताउँदै भन्नु भयो-“वडा नागरिकको ढोका अगाडिको सरकार हो, त्यसैले हामीले सक्दो सहयोग गरेका हौं ।”
त्यस्तै, सङ्घसंस्थाको तर्फबाट भूपेन्द्रप्रसाद आचार्यले वडाको पुनर्निर्माण र भविष्यको विकासमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।