मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एक महिने श्रीस्वस्थानी व्रत आजदेखि सुरु

ललितपुर । आज पौष शुक्ल पूर्णिमासँगै नेपाली सनातन धर्मावलम्बीले एक महिने श्रीस्वस्थानी व्रत सुरु गरेका छन् ।

पञ्चाङ्गअनुसार २०८२ पुस १९ गते शनिबार २३ घडी १६ पला अर्थात् अपराह्न ४ बजेर १५ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी परमेश्वरीको व्रत बस्ने परम्परा छ ।

विधिपूर्वक व्रत बस्ने श्रद्धालुले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा–आराधना गर्नुका साथै स्वस्थानी व्रतकथा श्रवण तथा वाचन गर्ने गर्छन् ।

व्रतको अन्तिम दिन माघ शुक्ल पूर्णिमामा विशेष पूजा गरी अक्षता, फलफूल, नैवेद्य, जनै, पान–सुपारीलगायत सामग्री १ सय ८ को सङ्ख्यामा चढाउने परम्परा रहेको छ । यसरी विधिपूर्वक व्रत गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

व्रत अवधिभर पाशुपत क्षेत्रअन्तर्गत गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेव मन्दिर व्रतालुका प्रमुख गन्तव्य बन्छन् ।

यसैगरी गोकर्ण र साँखुस्थित शालीनदीलगायत तीर्थस्थलमा पनि व्रतालुको घुइँचो लाग्ने गर्दछ । यी तीर्थस्थलहरूको महिमा श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

विधिपूर्वक व्रत बस्न नसक्ने श्रद्धालुले पनि बिहान वा साँझ स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने परम्परा छ ।

स्वस्थानीको महिमा समेटिएको ३१ अध्यायको व्रतकथा नेपाली भाषामा सर्वसुलभ छ । उक्त कथा प्रारम्भमा पुराणबाट नेवारी भाषामा रचिएको र पछि नेपाली भाषामा अनुवाद गरिएको मानिन्छ ।

व्रतकथाअनुसार सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशअनुसार श्रीस्वस्थानी व्रत बसेर भगवान् महादेवलाई पति रूपमा प्राप्त गरेकी थिइन् ।

साथै गोमा, चन्द्रावतीलगायत पात्रले पनि स्वस्थानी व्रतबाट इच्छाअनुसारको वरदान पाएको उल्लेख छ ।

Author

Related News