मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्कीमा मतदानस्थलहरूको स्थलगत अनुगमन

पोखरा । आगामी प्रतिनिधिसभा निर्वाचन-२०८२ लाई स्वच्छ, निष्पक्ष तथा सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले कास्की जिल्लामा मतदानस्थलहरूको स्थलगत अनुगमन जारी रहेको छ ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासे, प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्क बराल, आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रजिअ शिव लम्साल र चारै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा २०८२ माघ २४ गते जिल्लाका नौ ओटा मतदानस्थलको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक र स्थानीय समुदायसँग समन्वय गर्दै मतदानस्थलको वस्तुस्थिति अवलोकन गरिएको उहाँले बताउनु भयो ।

आचारसंहिताको कार्यान्वयन अवस्था, भौतिक पूर्वाधार, अपाङ्गमैत्री सुविधा, खानेपानी, बिजुली, शौचालयलगायतका आधारभूत आवश्यकताका साथै सुरक्षा व्यवस्थाका पक्षहरूः कम्पाउण्ड वाल, तारबार, सिसिटिभी तथा सडक पहुँचको अवस्था समेत निरीक्षण गरी आवश्यक सुधार तथा मर्मतसम्भारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ ।

स्थलगत अनुगमन गरिएका मतदानस्थलहरूमा पोखरा महानगरपालिका–१७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालय, पोखरा-२१ निर्मलपोखरीस्थित जनचेतन माध्यमिक विद्यालय, पोखरा-२१ नाच्नेचौरस्थित भविष्य निर्माण माध्यमिक विद्यालय, पोखरा-२१ शिवालयस्थित जनजागृति आधारभूत विद्यालय, पोखरा-३३ चिर्गादीस्थित सरस्वती टीका माध्यमिक विद्यालय, पोखरा-३३ आपुभञ्ज्याङस्थित कालिका माध्यमिक विद्यालय, पोखरा-३३ वरपाण्डेथुमस्थित शान्ति उदय माध्यमिक विद्यालय, पोखरा-३३ भुलभुले (पुँडी) स्थित जनजागृति आधारभूत विद्यालय तथा पोखरा-३३ भोटयानीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय रहेका छन् ।

जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा हाल १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ ।

Author

Related News