पोखरा । भोटेकोशीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीपहिरोमा परी मृत्यु भएकामध्ये पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएका १ सय २ शवमध्ये ८१ शवको जमिनमुनि व्यवस्थापन गरिएको छ भने २१ शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको छ ।
बाढीपहिरोपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न तथा परीक्षण गर्न स्थान अभाव भएपछि पूर्वी नवलपरासी, धादिङ, तनहुँ र गोरखाबाट शव पोखरा ल्याइएको थियो ।
पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पोखरा ल्याइएको थियो ।
भोटेकोशी-त्रिशूली बाढीमा परी मृत्यु भएका थप पाँच जनाको शव पनि भदौ २६ गते पोखरामा जमिनमुनि व्यवस्थापन गरिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा महानगरपालिका-१६, जौवारीस्थित वन क्षेत्रको जमिनमुनि ती शव व्यवस्थापन गरिएको हो ।
पहिचान हुन नसकेका पाँच शवमध्ये दुई महिला, दुई पुरुष र एक बालक रहेका छन् । जमिनमुनि व्यवस्थापन गरिएका शवको नम्बरका आधारमा डीएनए नमुना सङ्कलन गरिएको बरालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा परीक्षण तथा पहिचानका लागि ल्याइएका १ सय २ शवमध्ये यसअघि ७६ शव जमिनमुनि व्यवस्थापन गरिएको थियो । थप पाँच शव व्यवस्थापन गरिएसँगै जमिनमुनि व्यवस्थापन गरिएका शवको सङ्ख्या ८१ पुगेको हो ।
त्यस्तै, २१ शव पहिचान गरी आफन्तलाई बुझाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जमिनमुनि व्यवस्थापन गरिएका शवको डीएनए नमुना सुरक्षित राखिएको छ । आफन्तको डीएनएसँग नमुना मेल खाएमा पछि पुनः पहिचान गरी शव आफन्तलाई बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको छ ।
बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि अहिलेसम्म २५ जना आफन्तको डीएनए नमुना सङ्कलन गरिएको कार्कीले बताउनुभयो ।
डीएनए परीक्षणका लागि निवेदन तथा मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उहाँले जानकारी दिनुभयो ।