ललितपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नबिराउनु नडराउनु भन्ने उक्तिलाई आज पनि दोहोर्याउनु भएको छ ।
उहाँले आज काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरसंवादमा बोल्दै भन्नु भयो-‘नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । मान्छेको मनोबल गिराउने, तनावयुक्त बनाइदिने र व्यक्तित्व सिध्याउने धेरै ठूलो अपराधी हुन्छ तर अन्त्यमा फेरि सत्यको जित हुन्छ । असत्यको हार हुन्छ ।’
त्यसकारण उच्च मनोबलका साथ अगाडि बढ्न आवश्यक रहेको बताउँदै उहाँले आफ्नो जीवनका कुनैपनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउन चुनौती दिनु भएको छ ।
अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नु भयो । नेपालले आफूले घुस खाएको प्रमाणित गर्न चुनौतीसमेत दिनु भएको हो ।
यसैबिच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा पढेर सुनाउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराउनु भएको हो ।