मानव आवाज

२०८३ भदौ २५ गते
00: 00: 00
२०८३ भदौ २५ गते

फेन्सी व्यवसायीका नौ उम्मेदवार, पौडेल मात्र विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको हालै सम्पन्न निर्वाचनमा फेन्सी तथा रेडिमेड व्यवसायी सङ्घबाट विभिन्न पदमा उम्मेदवारी दिएका नौ जनामध्ये मनोहरी पौडेल मात्र विजयी हुनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशन तथा निर्वाचनमा फेन्सी तथा रेडिमेड व्यवसायी सङ्घले अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा आफ्ना नौ जना व्यवसायीलाई उम्मेदवार बनाएको थियो ।

तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले उत्कृष्ट मतसहित विजय हासिल गर्दै सङ्घको कार्यसमितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुभएको हो ।

फेन्सी तथा रेडिमेड व्यवसायी सङ्घका तर्फबाट अध्यक्ष पदमा सङ्घका पूर्वमहासचिव बलराम आचार्य उम्मेदवार हुनुहुन्थ्यो ।

वरिष्ठ उपाध्यक्षमा सङ्घका आजीवन सदस्य टीकाराम सुवेदी तथा वाणिज्य उपाध्यक्षमा साधारण सदस्य भीम गौतम उम्मेदवार बन्नुभएको थियो ।

त्यस्तै उपमहासचिव पदमा सङ्घका अध्यक्ष यादवप्रसाद पोखरेल र साधारण सदस्य रामचन्द्र तिमिल्सेना उम्मेदवार थिए भने कोषाध्यक्ष पदमा साधारण सदस्य जीवनप्रकाश श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो ।

कार्यसमिति सदस्यतर्फ आजीवन सदस्य हरिप्रसाद अधिकारी, साधारण सदस्य नवीन नापित र साधारण सदस्य मनोहरी पौडेल चुनावी मैदानमा हुनुहुन्थ्यो । अन्य उम्मेदवार पराजित हुँदा पौडेल भने निर्वाचित हुनुभएको हो ।

प्यानलमा नपरेका पौडेलको स्वतन्त्र उम्मेदवारी सफल

नवनिर्वाचित अध्यक्ष शोभा गौतमको प्यानलमा समेत नपरेका पौडेलले कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको थियो ।

फेन्सी तथा रेडिमेड व्यवसायी सङ्घबाट नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहे पनि एक जना मात्रै निर्वाचित भएपछि पौडेलको विजयलाई व्यवसायी क्षेत्रमा विशेष चासोका रूपमा हेरिएको छ ।

पौडेलको विजयसँगै पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमितिमा फेन्सी तथा रेडिमेड व्यवसायी क्षेत्रको प्रतिनिधित्व भएको छ ।

व्यवसायीको हकहित, फेन्सी तथा कपडा व्यवसायको प्रवर्धन र व्यवसायमैत्री वातावरण निर्माणका विषयलाई सङ्घको कार्यसमितिमा प्रभावकारी रूपमा उठाउने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।

व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा समेत सक्रिय पौडेलले कार्यसमिति सदस्य पदमा उत्कृष्ट मत पाएपछि व्यवसायी मतदाताले उहाँलाई आशालाग्दो प्रतिनिधिका रूपमा हेरेका छन् ।

लामो समयदेखि व्यापारव्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेलले यसअघि पोखरा उद्योग वाणिज्य सङ्घको मनोनीत कार्यसमिति सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सङ्घका बैठकहरूमा व्यवसायीका समस्या र सरोकारका विषय निरन्तर उठाउँदै आउनुभएका पौडेल व्यवसायीका समस्या नजिकबाट बुझेका व्यक्ति भएको व्यवसायीहरूको भनाइ छ ।

सरल र सहयोगी स्वभावका पौडेलले सङ्घलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन आफूलाई व्यवसायीहरूले जिम्मेवारी दिएको बताएका छन् ।

व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र सङ्घको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पौडेलले व्यक्त गर्नुभएको छ ।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्षसमेत रहनुभए पौडेल पत्रकारितामा पनि सक्रिय हुनुहुन्छ ।

उहाँ नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश परिषद्का सदस्य हुनुहुन्छ । व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रमा हासिल गरेको अनुभवलाई पोखरा उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उहाँको भनाइ छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार