पोखरा । पोखरामा नेपाली नयाँ वर्षको अवसर पारेर रात्रिकालीन सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
पछिल्लो समय अङ्ग्रजी नयाँ वर्ष लक्षित कार्यक्रमहरूको प्रभाव बढ्दै जाँदा नेपाली नयाँ वर्षका गतिविधि केही कम हुँदै गएको सन्दर्भमा यस प्रतियोगिताले पर्यटन प्रवर्धनमा थप ऊर्जा दिने विश्वास गरिएको छ ।
“पर्यटन, स्वास्थ्य र समुदाय” लाई जोड्ने उद्देश्यसहित “अँध्यारो रात, उज्यालो लक्ष्य पोखरा नाइट रन” अभियान अन्तर्गत “पोखरा नाइट स्ट्रिट रन २०८३” आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रम पोखरा प्रवर्धन केन्द्र कास्की र पोखरा क्लिक को संयुक्त आयोजनामा २०८२ चैत २८ गते सञ्चालन हुनेछ ।
प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकी को सहकार्य तथा पोखरा महानगरपालिका ९ को समन्वयमा हुने भएको छ ।
कार्यक्रमका लागि मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् ।
२०८२ चैत २१ गते आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवम् सञ्चारकर्मी दिननाथ बरालले साँझ ७ बजे बाराहीघाटबाट सुरु हुने ५ किलोमिटर दौड मेन्डर प्वाइन्ट, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा समापन हुने जानकारी दिनुभयो ।
‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्नु रहेको संयोजक बरालले बताउनुभयो । साथै पोखरा भ्रमण वर्ष २०२५/०२६ लाई प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ ।
प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू १६ (१२ १६ वर्ष) गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । सहभागी धावकहरूको बीमा गरिनेछ भने रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ । हेडल्याम्प प्रयोग गर्न पनि अनुमति दिइने आयोजकले जनाएको छ ।
इच्छुक सहभागीले चैत २५ गते बिहान ११:२९ बजेसम्म पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्नेछन् ।
पुरस्कारतर्फ खुला विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला, विदेशी तथा यू–१६ विधाका विजेतालाई जनही ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार दिइनेछ ।
त्यसैगरी उत्कृष्ट २० धावकले फिस्टेल ड्रिम पार्कको एक हजार रुपैयाँ बराबरको प्रवेश टिकट प्राप्त गर्नेछन् भने अन्य सहभागीलाई पार्क तथा वाटर गेममा ३० प्रतिशत छुट दिइनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । लक्ष्मण सुवेदी ले यस्तो प्रतियोगिताले पोखराको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शहरी गतिशीलता, शान्ति सुरक्षा र स्वस्थ जीवनशैलीप्रति जनचेतना बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम दिननाथ बराल को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन असफल गौतमले गर्नुभएको थियो ।