पोखरा । पोखरा महानगरपालिका-१८ सराङकोट चपाई चौतारास्थित प्रहरी चौकी सराङकोटको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र घर्ती क्षेत्रीले २०८३ असोज १ गते एक कार्यक्रमबीच भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डीआईजी घर्ती क्षेत्रीले पर्यटकीय दृष्टिले महत्वपूर्ण सराङकोट क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रहरी चौकीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नयाँ भवन तथा चौकीको स्थापनाले सराङकोट क्षेत्रमा शान्ति सुरक्षा सुदृढ गर्नुका साथै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पछिल्लो समय सराङकोट पर्यटकीय हबका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै उहाँले प्याराग्लाइडिङ, केबलकार, धार्मिकस्थल तथा ठूला होटल र रेस्टुरेन्ट सञ्चालनमा रहेकाले यस क्षेत्रमा प्रहरीको सेवा र सुरक्षा उपस्थिति थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले पर्यटक तथा स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी चौकीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट कुल २ करोड ४० लाख ४५ हजार ९ सय ८३ रुपियाँ लागतमा प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
एसपी कार्कीका अनुसार २०८१ असार २३ गते निर्माण सम्झौता भएको उक्त भवन तोकिएको समयमै निर्माण सम्पन्न भएको हो ।
योजनाअन्तर्गत कार्यालय भवन, मेस भवन, शौचालय, प्रतीक्षालय, गेट तथा पेरिमिटर पर्खाल निर्माण गरिएको छ ।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले सराङकोटमा नेपाल प्रहरीको नयाँ चौकी स्थापना हुनु खुसीको विषय भएको बताउनुभयो ।
उहाँले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न नेपाल प्रहरीले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै स्रोतसाधनको सीमितताका बाबजुद सुरक्षाकर्मीले प्रभावकारी रूपमा काम गर्दै आएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गौतमले स्थानीय समुदायसँग समन्वय र सहकार्य गर्दै प्रहरी अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता तथा भवन निर्माणमा सहयोग गर्ने गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।
प्रहरी चौकीको स्थापनाले सराङकोट क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ हुनुका साथै स्थानीय समुदायसँग समन्वय गरी प्रहरी सेवा प्रवाह गर्न सहज हुने उहाँको भनाइ थियो ।
सराङकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा विकास हुँदै गएको छ। यहाँ प्याराग्लाइडिङ, केबलकार तथा विभिन्न धार्मिकस्थलसँगै होटल, रेस्टुरेन्टलगायत पर्यटकीय व्यवसाय सञ्चालनमा छन् ।
उद्घाटन कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र, आमा समूह तथा टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।