काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि. को पाँचौँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा उप्रेती निर्वाचित हुँदा उपाध्यक्षमा पूर्ण शर्मा, महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सचिवमा चिरञ्जीवी केसी निर्वाचित हुनुभएको छ ।
१५ सदस्यीय सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक–एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था अनुसार वागमती प्रदेशबाट एकराज उप्रेती, गण्डकी प्रदेशबाट कृष्ण बाबु श्रेष्ठ, लुम्बिनी प्रदेशबाट पूर्ण शर्मा र सुदूरपश्चिम प्रदेशबाट धर्म कुँवर निर्विरोध निर्वाचित हुनुभएको थियो । कोशी, मधेस र कर्णाली प्रदेशमा भने निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो ।
कोशी प्रदेशबाट इन्दिरा निरौला ४५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गर्नु भयो ।
मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मतसहित निर्वाचित हुँदा राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गर्नुभएको थियो ।
कर्णाली प्रदेशमा धर्मराज थापा २८ मतसहित विजयी हुनुभयो भने प्रतिस्पर्धी चाँदनी ढकालले २६ मत प्राप्त गर्नु भयो ।
खुला सञ्चालकतर्फ चिरञ्जीवी केसी (३७७), सुखदेव न्यौपाने (३६२), हरी बहादुर बस्नेत (३३५) र हरी बहादुर अधिकारी (३२५) मतसहित विजयी हुनु भयो । अन्य उम्मेदवार सुमन नेपालले २२१ र नारायण प्रसाद खनालले २४१ मत प्राप्त गर्नुभएको थियो ।
महिला सञ्चालकतर्फ गीता केसी (४१५), मीना कुमारी ढकाल (४०१), देवकी कुमारी भण्डारी (३२३) र गोमा देवी आचार्य (२५७) मतसहित निर्वाचित हुनुभएको छ ।
प्रतिस्पर्धी झुपा पाण्डेले २१३, नयनकला खड्काले १२० र कमला कुमारी रिमालले १५६ मत प्राप्त गर्नु भयो ।
चार वर्षे कार्यकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
हाल केन्द्रीय सङ्घको सञ्जालमा १ हजार १ सय ५१ सदस्य संस्था आबद्ध छन् । सङ्घले ७७ ओटै जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरी करिब ९ लाख घरपरिवारका सदस्य किसानहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।