रुद्रबहादुर खड्का, काठमाडौँ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभएको हो ।
विशेष महाधिवेशन पक्षधरको आह्वानमा २०८२ पुस २७ र २८ गते आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपको खुला चौरमा भव्य रूपमा सम्पन्न भइरहेको छ ।
उद्घाटनअघि उपत्यकाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भेला भई र्याली, बाजागाजा र झाँकीसहित आयोजनास्थल प्रवेश गरेका थिए ।
उद्घाटन सत्रका लागि खुला चौरमा बृहत् मञ्च निर्माण गरिएको छ भने मञ्चअगाडि हजारौँ नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ ।
मञ्च वरिपरि कांग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसार सामग्री राखी आकर्षक सजावट गरिएको छ । विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुभएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजना गरिएको यस विशेष महाधिवेशनको औपचारिक उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर गर्नुभएको हो ।
महाधिवेशनको बन्द सत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपस्थित सभा हलमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।
२०८२ असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो ।
यद्यपि विशेष महाधिवेशनका सन्दर्भमा पार्टीको संस्थापन पक्षले असहमति जनाएको छ । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै सुरु भएको छ ।
आयोजकका अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । महाधिवेशन प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति १ हजार रुपियाँ तोकिएको छ ।
पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा आयोजना गरिएको यस विशेष महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरावलोकन तथा संरचनागत सुधारलगायतका महत्वपूर्ण एजेन्डामा छलफल हुने जनाइएको छ ।