सिन्धुली । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सिन्धुली जिल्लाका ७९ ओटै वडामा अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सिन्धुलीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलका अनुसार जिल्लाका नौवटै स्थानीय तहका ७९ वडामा अधिवेशन सम्पन्न गरी सर्वसम्मत रूपमा नयाँ वडा नेतृत्व चयन गरिएको छ ।
केन्द्रीय समितिले तोकेर पठाएको निर्वाचन समितिले जिल्लाका सबै वडामा अधिवेशन गराउँदै वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको नेपाली कांग्रेस सिन्धुलीका सचिव ईश्वर बस्नेतले जानकारी दिनुभयो ।
पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।
सोही कार्यतालिकाअनुसार सिन्धुलीमा असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।
जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भएसँगै अब कांग्रेसको पालिका तथा अन्य तहका अधिवेशनका लागि प्रक्रिया अघि बढ्ने जनाइएको छ ।