मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा-१७ मा ७० युनिट रगत सङ्कलन

पोखरा । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–१७ को आयोजनामा खुला रक्तदान कार्यक्रम छोरेपाटनमा सम्पन्न भएको छ ।

प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा २०८२ फागुन २ गते उपशाखाको आफ्नै प्राङ्गण, पोखरा–१७ छोरेपाटनमा सम्पन्न उक्त कार्यक्रममा कुल ७० युनिट रगत सङ्कलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की वडाअध्यक्ष राधिका कुमारी शाही योगी ले पहिलो रक्तदाता असित बराल र कल्पना बराललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा वडाअध्यक्ष योगीले मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वेच्छिक सेवा, एकता र सार्वभौमिकता जस्ता रेडक्रसका सात सिद्धान्तलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्वका साथ गरिएको रक्तदानजस्तो पवित्र कार्यको प्रशंसा गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि योगीले मानवीय सेवामा संलग्न सामाजिक तथा संस्थागत क्षेत्रका बौद्धिक व्यक्तिहरूले रेडक्रसका मूल्य–मान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले अनुशासन, प्रतिस्पर्धात्मक भावना र सकारात्मक ऊर्जा सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।

साथै क्षमता अभिवृद्धि, नेतृत्व विकास, आत्मनिर्भरता, उद्यमशीलता तथा सचेतनामूलक कार्यक्रमहरूमा वडा कार्यालय सधैं सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की की सभापति उर्मिला खड्का, निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, जुनियर युवा संयोजक डिल्लीराम बराल, उपशाखा समन्वयकर्ता बबिता सुवेदी, समाजसेवी रजनी कोईराला तथा प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली लगायतले रक्तदानको महत्वबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

उपशाखा सभापति लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति हरिप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम संयोजक रिता सवेदीले स्वागत तथा उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव चुडामणि बरालले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा पदाधिकारी, सदस्य, आजीवन तथा साधारण सदस्य, युवा क्लब, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक–विद्यार्थी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Related News