ललितपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पेशागत महासङ्घ नेपालको युवा राष्ट्रिय समितिले ‘नवउदारवाद र युवा वर्गमा प्रभाव’ विषयमा एक दिने भर्चुअल सेमिनार सम्पन्न गरेको छ ।
विश्व ट्रेड युनियन महासङ्घका उपमहासचिव श्रीकुमारले नवउदारवादले युवालाई अस्थिर रोजगारी, कम ज्याला र मानसिक तनावमा धकेलेको बताउँदै भेदभावरहित र कल्याणकारी राज्य निर्माणका लागि युवाको सङ्घर्ष अपरिहार्य भएको टिप्पणी गर्नु भयो ।
महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले नवउदारवादले गरिबी, बेरोजगारी र भ्रष्टाचार बढाएको भन्दै श्रमशोषणविरुद्ध युवाले नेतृत्व लिनुपर्नेमा जोड दिनु भयो ।
महासङ्घ आबद्ध यातायात मजदुरहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियनका महासचिव म्याथ्यू बोले–रेड्डाटलगायतका अन्तर्राष्ट्रिय वक्ताहरूले पनि सङ्गठन र सङ्घर्षमार्फत मात्र युवाको अधिकार सुरक्षित गर्न सकिने धारणा राख्नु भयो ।
कार्यक्रममा जनकलाकार ऋषि अधिकारीले ‘समाजवाद’ विषयक गीत प्रस्तुत गर्नु भएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।