पोखरा । निर्वाचन आयोग अन्तर्गतको प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा कार्यालयले पत्रकारसँग अन्तरक्रिया गर्दै हालसम्म भएका तयारी र व्यवस्थापनबारे जानकारी सार्वजनिक गरेको हो ।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार फागुन १८ गतेदेखि कर्मचारीहरूले निर्वाचन सामग्री बुझ्न सुरु गर्नेछन् भने १९ गतेदेखि सम्बन्धित मतदानस्थलतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइएको छ ।
गण्डकी प्रदेशभर १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्, जसमध्ये ९ लाख ५५ हजार २ सय ५१ महिला, ९ लाख १४ हजार ८ सय पुरुष र १४ जना अन्य मतदाता छन् ।
प्रदेशभर १ हजार २ सय ९९ मतदानस्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन सम्पन्न गराउन १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ स्वयम्सेवक परिचालन गरिएको जनाइएको छ ।
कास्की जिल्लामा मात्रै ३ लाख ८ हजार ५ सय ७२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । जिल्लाभर १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र कायम गरिएको छ । ४९ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमा ४४ पुरुष र पाँच महिला रहेका छन् ।
निर्वाचन आउन अब तीन दिन मात्र बाँकी रहँदा कास्कीका ४९ उम्मेदवारमध्ये ४२ जनाले मात्र आफ्नै नाममा छुट्टै बैङ्क खाता सञ्चालनमा ल्याएका छन् ।
खर्च विवरण प्रस्तुत गर्न ४५ जनाले सिफारिस लगे पनि कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा परेका कारण दुई जनाको बैङ्क खाता खुल्न नसकेको बताइएको छ ।
प्रमुख कोष नियन्त्रक तथा अनुगमन अधिकृत रमेश अर्यालका अनुसार एक उम्मेदवारको नागरिकताको विवरण नमिलेकाले खाता खुलेको छैन भने चार जना उम्मेदवारले पार्टीकै खाताबाट कारोबार गर्ने अडान राखेका छन् ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले छुट्टै बैङ्क खाता खोलेर सोहीमार्फत खर्च गर्नुपर्ने व्यवस्था भए पनि खाता नखोल्ने उम्मेदवारमाथि के कारबाही गर्ने भन्ने विषयमा स्पष्ट कार्यविधि तय हुन बाँकी रहेको जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिएको जानकारी दिनु भयो ।
लिखित उजुरी नपरे पनि मौखिक सूचनाका आधारमा ठूला झण्डा हटाउने, भोजभतेर रोक्ने र २५ जनाभन्दा बढीको जुलुस नियन्त्रण गर्ने कार्य गरिएको छ ।
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने र आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्नेलाई ‘इन्फर्मेसन इन्टिग्रिटी युनिट’मार्फत निगरानी गरी हटाइएको उहाँले बताउनु भयो ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार निर्वाचन अवधिभर अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति नियमित राखिनेछ भने मतदानको दिन सवारी साधन सञ्चालनका लागि पास व्यवस्थापन प्रभावकारी बनाइनेछ ।
जिल्लाका मतदान केन्द्रलाई अति सम्वेदनशील ५६, सम्वेदनशील ५४ र सामान्य ४३ गरी वर्गीकरण गरिएको छ र सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा कास्कीबाट आठ जनालाई नियन्त्रणमा लिइएको छ, जसमध्ये तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने पाँच जनामाथि अनुसन्धान भइरहेको छ ।
मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्याउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विशेष टास्क फोर्स गठन गरिएको छ ।
निर्वाचन सूचना अधिकारी रूद्र न्यौपानेका अनुसार कास्कीका तीनओटै निर्वाचन क्षेत्रका मतगणना स्थल तय गरिएको छ ।
क्षेत्र नम्बर १ को मतगणना पोखरा महानगरपालिका-१२ को वडा कार्यालयमा, क्षेत्र नम्बर २ को मतगणना सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखरा-१७ ड्यामसाइडमा र क्षेत्र नम्बर ३ को मतगणना कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, मालेपाटन, पोखरा-५ मा हुनेछ ।
यसैबिच, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोलीले पोखरा महानगरपालिकाका विभिन्न मतदानस्थलहरूको अनुगमन गरी भौतिक पूर्वाधार, पानी, बिजुली, शौचालय, सुरक्षा प्रबन्ध र सडक पहुँचको अवस्थाबारे निरीक्षण गरेको छ ।
आवश्यक सुधार तथा मर्मतसम्भारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ ।
कर्मचारीका लागि कास्की जिल्ला समन्वय समिति र कारागारमा एकएक अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ, जहाँ २ हजार ८ सय ६१ मतदाता रहेका छन् ।