धनगढी । नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीबाट सुरु भएको छ ।
पार्टीले पूर्वनिर्धारित योजना अनुसार २०८२ मङ्सिर १२ गते धनगढीबाट प्रदेशस्तरमा सन्देशसभा आयोजना गरेको नेकपाले जनाएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १५ भन्दा बढी वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि एकताको सन्देश दिन प्रदेशस्तरमा सन्देशसभा गरिएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत नेताहरूले सन्देशसभामा सम्बोधन गर्नुभएको छ ।
उहाँहरूले सन्देशसभामार्फत आगामी निर्वाचनबाट नेकपा पहिलो पार्टी हुने र यही पार्टीले मात्रै राजनीतिक निकास दिन सक्ने बताउनु भएको छ ।

एमाले नेता साउद नेकपामा

नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ ।
२०७० सालको संविधानसभा सदस्यमा निर्वाचित साउदलाई पार्टीका नेता डा. भीम रावलले एक कार्यक्रमबिच स्वागत गर्नु भयो ।
पार्टी प्रवेशपछि साउदले कम्युनिस्ट आन्दोलनको एकताका लागि सक्रिय भएर योगदान दिन चाहेको बताउनु भयो ।
साउद २०५० देखि २०५४ सम्म एमाले अछामको उपसचिव हुनुहुन्थ्यो । त्यसपछि दुईपटक एमाले जिल्ला सचिव (पार्टी प्रमुख) हुनुहुन्थ्यो ।
साउद अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्य निर्वाचित हुनु भएको थियो ।