पोखरा । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) कास्कीको सातौं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशन २०८२ भदौ १७ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा गैसस महासङ्घ नेपाल कास्कीका अध्यक्ष इन्द्रीरा पौडेलले एनसिई नेपालले स्थानीय स्तरमा गरेका गतिविधि र संस्थागत विकासको प्रशंसा गर्दै, आगामी दिनमा बालबालिका, महिला र वञ्चित समुदायका परिवारको हितमा प्रभावकारी काम गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनु भयो ।
इन्सेक गण्डकी प्रदेश पोखराका संयोजक गणेश भण्डारीले एनसिई नेपालको शिक्षा क्षेत्रमा निरन्तर बहस, पैरवी र खबरदारी गर्दै आएको उल्लेख गर्दै, साधारण सभामा प्रस्तुत प्रतिवेदनलाई आगामी कार्यसमितिको बैठकबाट अनुमोदन गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा गैसस महासङ्घ गण्डकीका अध्यक्ष पदमराज पहारी, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, शिक्षा विकास केन्द्रका अनन्त लम्साल, शिक्षा सेवा समाजका दामोदर गौतम, बहिनी एडुकेयर फाउन्डेशनका निर्देशक सुरेन्द्र परियार, युनिकर्न नेपालका बिष्णुकुमार मल्लले शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे आआफ्नो धारणा राख्नु भएको थियो ।
उहाँहरूले ग्रामीण क्षेत्रका विद्यालयमा स्रोतसाधनको कमी, शिक्षक अभाव, विद्यार्थीको ड्रप–आउट दर र सीपमूलक शिक्षाको कमी जस्ता विषय उठान गर्दै ती क्षेत्रमा अभियान सञ्चालन गर्नु आवश्यक भएकोमा जोड दिनु भयो ।
साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अध्यक्ष शिवराज शर्माले प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमा विगतका गतिविधि, उपलब्धि, चुनौती र आगामी योजना समावेश गरिएको थियो । अध्यक्ष शर्माका अनुसार संस्थाको दीर्घकालीन दृष्टि, उद्देश्य र आगामी वर्षका प्राथमिकतामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको थियो ।
पाँचौं अधिवेशनबाट आगामी तीन वर्षका लागि गोनेसा नेपालका कार्यकारी निर्देशक एवम् एनसिई कास्कीका अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको सचिव रमेश सुवेदी (चिल्ड्रेन नेपाल), कोषाध्यक्ष सङ्गिता भण्डारी (बालहितकारी परियोजना) र सदस्यहरूमा अनन्त लम्साल (शिक्षा विकास केन्द्र), दामोदर गौतम (शिक्षा सेवा समाज), सुरेन्द्र परियार (बहिनी एडुकेयर फाउन्डेशन), बिष्णुकुमार मल्ल (युनिकर्न नेपाल), आमा मिलन केन्द्र र इन्सेक पोखराका प्रतिनिधि चयन भएका छन् ।
कार्यक्रम अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव रमेश सुवेदीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका ४० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।