गुल्मी । सबै प्रक्रिया सूचक र चरण पूरा गरेर धुर्कोट गाउँपालिका वडा १ नयाँगाउँ जिल्लामै पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा भएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जनचासोलाई जानकारी दिनु भयो ।
औपचारिक रूपमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले मूल्याङ्कन रिपोर्ट, तथ्याङ्क सङ्कलन र प्रतिवेदन लेखन एवम् सबै सूचक मापन गरेको आधारमा वडाध्यक्ष चेतमान कुँवरलाई २०८२ असार १५ गते औपचारिक कार्यक्रमको आयोजना गरि बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।
वडाध्यक्ष कुँवरका अनुसार वडा कार्यालयद्वारा सम्पादन गरिनु पर्ने ५१ सूचक २८ तहगत चरण पार गरेर गुल्मी जिल्लामा पहिलो पटक बालमैत्री शासनयुक्त घोषणा वडा भएको हो ।

स्थानीय तहमा बाल संरक्षण समिति गठन, बालमैत्री नीतिहरू तयार गरी लागु, बालबालिकासम्बन्धी कार्यक्रमका लागि वार्षिक बजेट छुट्याएको र वडामा बाल अधिकार संरक्षणसम्बन्धी कार्ययोजना रहेको सम्बन्धी मापदण्ड अनुसार वडामा जन्म दर्ता, स्वास्थ्य, स्वच्छता, शिक्षा, बालश्रम, बाल सहभागिता, बाल संरक्षण, आश्रित बालबालिका, सूचना पहुँच, समावेशीकरण भए नभएको समेत अनुगमन र मूल्याङ्कन प्रमुख खत्रीको नेतृत्वमा गठित जिल्ला स्तरीय समितिले गरेको अध्यक्ष कुँवरको भनाइ छ।