मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

‘ना’ को २२ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । हवाई खेलकुदमार्फत नेपालको पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउँदै आएको नेपाल हवाई खेलकुद संस्था (ना) को २२ औं वार्षिक साधारणसभा २०८२ कात्तिक २० गते पोखरामा सम्पन्न भएको छ ।

संस्था २०५९ सालमा पोखराका हवाई खेलकुदसँग सम्बन्धित उद्यमी र खेलाडीहरूको संयुक्त प्रयासबाट स्थापना भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै पोखरा भ्रमण वर्ष-२०२५ का संयोजक गोपीबहादुर भट्टराईले पोखरालाई पर्यटकीय राजधानीका रूपमा प्रमोट गर्न पर्यटनमैत्री सेवा निरन्तर प्रदान गर्न व्यवसायीलाई आग्रह गर्नु भयो ।

नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा खेलाडी प्रभावित भएको उल्लेख गर्दै उहाँले खेलकुद कार्यक्रम समयमै सञ्चालन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भयो ।

संयोजक भट्टराईले संस्थाले नाफाभन्दा सेवा र पर्यटकमैत्री गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, संस्थाका सञ्चालकहरूलाई लक्ष्यअनुसार जिम्मेवारीपूर्वक काम गर्न अनुरोध गर्नु भयो ।

संस्थाका अध्यक्ष अनिल केसीले पोखरालाई मुख्य कार्यक्षेत्र बनाउँदै व्यवसायी तथा खेलाडीसँग सहकार्य विस्तार गर्न सफल भएको बताउनु भयो ।

प्रारम्भिक चरणमा सात प्याराग्लाइडिङ व्यवसायिक कम्पनी मात्र आवद्ध रहेकोमा अहिले ५६ कम्पनी र ३ सय ९९ जना स्थायी पाइलट सक्रिय रहेको उहाँले जानकारी दिनु भयो ।

अध्यक्ष केसीका अनुसार आगामी दिनमा व्यवसायी र पाइलटका हितका लागि उपचार, उद्धार तथा राहत कोष स्थापना, प्याराग्लाइडिङको नियमन-अनुगमन, दुर्घटना न्यूनीकरण तथा एकीकृत सवारी साधन व्यवस्थापनका मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग नजिकको समन्वय गरिनेछ ।

साधारणसभामा महासचिव बलराम आचार्यले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुति गर्नु भयो ।

कोषाध्यक्ष शर्मिला शर्माले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन पेस गर्नु भयो । आगामी वर्ष २०८२/८३ का कार्यक्रम तथा अनुमानित आयव्ययसमेत सभाले बहससहित पारित गरेको जानकारी दिइयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछाने, पोखरा अन्तराष्ट्रिय विमानस्थलका एटीसी प्रबन्धक योगेन्द्र कुँवर, पोखरा उधोग वाणिज्य सङ्घका उपाध्यक्ष बलराम आचार्य, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियालगायतले पर्यटनमैत्री व्यवहार र वातावरण सिर्जनामा सामूहिक प्रयासको आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रम अध्यक्ष अनिल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष खेमराज आचार्यले धन्यवाद मन्तव्य दिनु भएको थियो भने महासचिव बलराम आचार्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Author

Related News