ललितपुर । यस वर्षको नागपञ्चमी २०८२ साउन १३ गते परम्परागत विधिपूर्वक मनाइएको छ। घरको दैलामा दूध, दही, धूप, दीप चढाएर नाग पूजा गर्ने परम्परा रहेको छ।
ललितपुरको सातदोबाटोदेखि ४ किलोमिटर दक्षिणमा पर्ने नागदहमा यो वर्ष पनि मेला लागेको छ।
ललितपुर महानगरपालिका वडा नं २४ को आयोजनामा यहाँ हरेक वर्ष नागपञ्चमीको दिन मेला लाग्दै आएको छ ।
यहाँका स्थानीय बासिन्दाले यसलाई पौराणिक बासुकी नागको निवासस्थल मानेर पुजा अर्चना गर्ने गरेका छन् ।
जनश्रुति अनुसार मञ्जुश्रीले चोभारको डाँडा काटेपछि उपत्यकामा नागदह र टौदह बचेका थिए। नागदहमा नागिनी र टौदहमा नाग बस्ने विश्वास छ।
नागदह पन्छी वासस्थानको रूपमा पनि चर्चित छ, जहाँ ५० भन्दा बढी चरा प्रजाति पाइन्छन्, जसमा कालो चिल, बकुल्ला, माटीकोरे लगायतका दुर्लभ चरा समेत भेटिन्छन्।