रुद्रबहादुर खड्का , हेटौंडा ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजना र कोशिस नेपालको सहकार्यमा आत्महत्या रोकथाम सम्बन्धी बहुपक्षीय सरोकारवालाबिच कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
“आत्महत्या रोकथामबारे सम्वाद सुरु गरौं, दृष्टिकोण बदलौं” भन्ने मूल नारासहित २०८२ मङ्सिर २२ गते मकवानपुरको हेटौंडामा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले आत्महत्या न्यूनीकरणका लागि जोखिममा रहेका व्यक्तिहरूले देखाउने सङ्केत पहिचान गर्न अत्यावश्यक भएको धारणा राखे ।
उहाँले विश्वभर हरेक वर्ष सेप्टेम्बर १० मा आत्महत्या विरुद्धको दिवस मनाइने भएकाले नेपालमा पनि यसबारे बहुक्षेत्रीय समन्वय, जनचेतना र व्यवहार परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।
विशेषगरी ग्रामीण क्षेत्रमा रोकथाम, परामर्श र पहुँचयोग्य सेवा विस्तार हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
मन्त्री थापामगरका अनुसार आत्महत्या न्यूनीकरणका उपाय अन्तर्गत जोखिममा रहेका व्यक्तिको भावनालाई निष्पक्ष रूपमा सुन्नु, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु र सामाजिक, आर्थिक कारणले उत्पन्न मनोवैज्ञानिक समस्या समाधानका उपाय विकास गर्नु महत्त्वपूर्ण रहनेछ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईंले आत्महत्या रोकथामको वर्तमान अवस्था, सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिकालगायत उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका लेखा अधिकृत जितेन्द्र कार्कीले आत्महत्या विश्वका धेरै देशमा १५ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्युको प्रमुख कारण बनेको तथ्य प्रस्तुत गर्नु भयो ।
उहाँका अनुसार सामाजिक बहिष्करण, पारिवारिक समस्या, मानसिक स्वास्थ्य समस्या, दीर्घरोग, असहयोगी परिवेश र भावनात्मक तनाव आत्महत्याका मुख्य कारणका रूपमा पहिचान भएका छन् ।
उहाँले आत्महत्यासम्बन्धी कारणमध्ये लागुऔषध तथा मदिरा दुरुपयोग, मानसिक समस्या (सिजोफ्रेनिया, डिप्रेशन, मानसाइकोसिस आदि), सामाजिक हिंसा, सम्बन्धविच्छेद, यौन हिंसा, दीर्घरोग तथा आकस्मिक आवेश प्रमुख रहेको बताउनु भयो ।
बागमती प्रदेश कार्यालयको तथ्याङ्कअनुसार २०८१/८२ आर्थिक वर्षको कार्तिक मसान्तसम्म २९३ जनाले आत्महत्या गरेको प्रस्तुतिमा उल्लेख गरिएको थियो ।
इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले आत्महत्या न्यूनीकरणका लागि समस्या पहिचान, मनोसामाजिक परामर्श, गरिबी निवारण, दीर्घकालीन रणनीति र नीति कार्यान्वयन आवश्यक रहेको बताउनु भयो ।
कौशिश नेपालकी थमकुमारी कुँवर, स्वास्थ्य कार्यालय मकवानपुरका किरण श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मुकुन्द रिजाल तथा स्वास्थ्य मन्त्रालय महाशाखाका प्रमुख दिनेश रुपाखेतीले पनि आत्महत्या रोकथामका कार्यक्रम, उपलब्धि, तथ्याङ्क र आगामी कार्ययोजना सम्बन्धमा क्रमशः कार्यपत्र प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा प्रदेशका सरकारी निकाय, मानव अधिकार संस्था, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।