रुद्रबहादुर खड्का, सिन्धुली ।
घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैङ्कबाट ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपियाँ लुटपाट भएको छ ।
२०८२ पुस २९ गते मङ्गलबार राति करिब ८:४० बजेको समयमा ५–६ जनाको समूहले बैङ्कमा प्रवेश गरी बैङ्कका गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिँदै खुकुरी प्रहार गरेको जनाइएको छ ।
खुकुरी प्रहारबाट कार्की सामान्य घाइते हुनु भएको छ । बैङ्कका अन्य कर्मचारीहरूलाई पनि नियन्त्रणमा लिएर बैङ्कमा रहेको नगद रकम लुटेरा समूह फरार भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा हालसम्म १ करोड ८० लाख १० हजार ५ सय रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले लुटपाटमा प्रयोग गरिएको बनेपाबाट रिजर्भ गरिएको टाटा सुमो जीप नियन्त्रणमा लिएको छ । साथै उक्त सवारी साधनका चालक भवत सिंह थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनामा संलग्न अन्य लुटेराहरूको तीव्र खोजतलास तथा व्यापक अनुसन्धान कार्य जारी रहेको छ ।