मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

२ हजार ८ सयभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुली जिल्लाभरिका २ हजार ८ सयभन्दा बढी किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीले जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा जिल्लाका नौवटा स्थानीय तहका २ हजार ८ सय ३७ जना किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तका अनुसार आउँदो माघ २५ गतेदेखि २९ गतेसम्म कक्षा ६ सम्म अध्ययनरत २ हजार ८ सय १६ जना छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका २१ जना किशोरीलाई खोप लगाइनेछ ।

त्यसैगरी, फागुन २ गतेदेखि १५ गतेसम्म गत वर्ष सञ्चालन भएको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइने उहाँले जानकारी दिनु भयो ।

स्थानीय तहअनुसार खोप पाउने किशोरीहरूको सङ्ख्या कमलामाई नगरपालिकामा ७ सय ९९, दुधौली नगरपालिकामा ६ सय ८, तीनपाटन गाउँपालिकामा २ सय ५३, फिक्कल गाउँपालिकामा २ सय ८, गोलन्जोर गाउँपालिकामा १ सय ४३, सुनकोसी गाउँपालिकामा १ सय ९, घ्याङ्लेख गाउँपालिकामा १ सय ४८, मरिण गाउँपालिकामा ३ सय ४३ र हरिहरपुरगढी गाउँपालिकामा २ सय २६ रहेको छ ।

नौओटा स्थानीय तहका २ सय २० ओटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो दिन १ हजार २ सय ११, दोस्रो दिन ७ सय ५९, तेस्रो दिन ५ सय २०, चौथो दिन २ सय ७२ र पाँचौँ दिन ५४ जना छात्रा तथा किशोरीलाई खोप लगाइने तालिका तय गरिएको छ ।

गत वर्ष माघ २२ देखि २८ गतेसम्म सञ्चालन भएको सात दिने एचपीभी खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ९ सय ९ जना छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ९२ जना किशोरी गरी कुल १४ हजार १ जनाले खोप लगाएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै सबै अभिभावक, विद्यालय र सरोकारवालाहरूलाई अभियानमा सक्रिय सहभागी गराउन आग्रह गर्नु भयो ।

Author

Related News