मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजारभन्दा बढी विदेशी पर्यटक

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२५ मा नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या कोभिड महामारीअघिको सन् २०१९ को तुलनामा ९७ प्रतिशतसम्म पुनर्स्थापना भएको तथ्याङ्कले देखाएको छ ।

पर्यटन विभागका अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ मा भने ११ लाख ४७ हजार ५ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस आधारमा सन् २०२५ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा समेत वृद्धि भएको देखिन्छ ।

जेन–जी आन्दोलन, बाढी–पहिरो तथा विभिन्न प्राकृतिक विपदका बाबजुद पनि पर्यटक आगमनमा उल्लेख्य सुधार देखिनु पर्यटन क्षेत्रका लागि सकारात्मक सङ्केत मानिएको छ ।

डिसेम्बर महिनामा मात्रै ९८ हजार १ सय ९० अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या डिसेम्बर २०२४ को तुलनामा ७ प्रतिशतले बढी हो भने डिसेम्बर २०१९ को महामारीअघिको आगमनको ९७ प्रतिशत बराबर हो ।

भारत शीर्ष स्रोत मुलुक
नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । खुला सिमाना र भिसारहित आवागमनका कारण भारत नेपालका लागि प्रमुख पर्यटक स्रोत मुलुक रहँदै आएको छ ।

समीक्षा अवधिमा भारतबाट २ लाख ९२ हजार ४ सय ३८ जना (२५.२ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् ।

भारतपछि संयुक्त राज्य अमेरिका, चीन, बेलायत र बङ्गलादेश क्रमशः शीर्ष पाँच पर्यटक स्रोत मुलुकमा परेका छन् ।

क्षेत्रगत आगमनमा दक्षिण एसिया अग्रस्थानमा

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क मुलुक) बाट सबैभन्दा धेरै ४ लाख ८ हजार १ सय ३ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३५.२ प्रतिशत हो ।

त्यसपछि अन्य एसियाली मुलुक र युरोपबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आएको तथ्याङ्कले देखाएको छ ।

Author

Related News