पोखरा । गण्डकी प्रदेशको राजधानी एवम् प्रमुख पर्यटकीय शहर पोखरामा रहेको गुप्तेश्वर महादेव गुफा र पाताले छाँगो (डेभिजफल)मा पछिल्लो समय दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरूले अवलोकन गर्ने गरेका छन् ।
पोखरा महानगरपालिका –१७ स्थित छोरेपाटनमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गुप्तेश्वर महादेव गुफा र डेभिजफलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन दैनिक २ हजार ५ सय जनादेखि ३ हजार जनासम्म हुने गरेको डेभिजफल टिकट काउन्टर व्यवस्थापक रेशमबहादुर खड्काले जानकारी दिनु भयो ।
खड्काका अनुसार प्रवेश शुल्क नेपालीलाई रू ५०।-, ज्येष्ठ नागरिक र विद्यार्थीलाई रू ३०।- र विदेशी नागरिकलाई रू १०० निर्धारण गरिएको छ ।
गुप्तेश्वर गुफा र पातालेछाँगो (डेभिजफल)अवलोकनका लागि आएका पर्यटकले गुफाभित्रको प्राकृतिक संरचना, धार्मिक स्थल र शिला रूपहरूको सेल्फी, फोटोग्राफी एवम् घुमघाम गरेर पूर्ण रूपमा आन्नद लिने गरेका छन् ।
खासगरी सार्वजनिक विदाको समय र चाडवाडका दिनहरूमा आगन्तुकको सङ्ख्या उल्लेख्य हुने गरेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनु भयो ।

गुफाभित्र रहेको गुप्तेश्वर महादेवको मूर्ति तथा प्राकृतिक रूपमा बनेका शिला पर्यटकलाई आकर्षित गर्ने मुख्य विषय हुन् ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको गुफा र डेभिजफल फेवातालसँगै सिद्वार्थराज मार्गसँग जोडिएका कारण पर्यटकको सहज पहुँचमा रहेको स्थानीय व्यवसायी सागर अधिकारीको भनाइ छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै स्थानीय व्यवसाय तथा पर्यटन प्रवर्धनमा थप उत्साह एवम् सकारात्मक प्रभाव परेको डेभिजफल क्लबका महासचिव दिपक सुबेदीले बताउनु भयो ।