पोखरा । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा सामुदायिक सेवा केन्द्रहरूको संयुक्त आयोजनामा २०८२ मङ्सिर २८ गते नेपाल प्रहरीको सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई एक औपचारिक कार्यक्रमकाबिच शुभकामना, बधाई तथा सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि महानिरीक्षक कार्कीले समस्या पहिचान गर्दै शान्ति–सुरक्षा र अमनचयन कायम राख्नु नेपाल प्रहरीको पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
सामाजिक सेवा र मानवीय कार्य शुल्क लिएर गर्ने विषय नभएको उल्लेख गर्दै उहाँले उच्च नैतिक चरित्र भएका व्यक्तिले मात्र समाजसेवा तथा सामुदायिक सेवा केन्द्रको नेतृत्व गर्न सक्ने धारणा व्यक्त गर्नु भयो ।

शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा, सामाजिक मूल्य–मान्यता र न्याय मानव सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उहाँको भनाइ थियो ।
पर्यटकीय क्षेत्रका सन्दर्भमा पोखराको लेकसाइड, चितवनको सौराहा, रूपन्देहीको लुम्बिनी, काठमाडौँको ठमेललगायत स्थानमा पर्यटकीय क्षेत्र र आवासीय क्षेत्र छुट्टै व्यवस्था नहुँदा २४ सै घण्टा सञ्चालनले सुरक्षा चुनौती थपिएको उहाँले बताउनु भयो ।
व्यवसायीबाट २४ घण्टा सञ्चालनको माग र स्थानीयवासीबाट नखोल्नुपर्ने आवाज एकसाथ आएको उल्लेख गर्दै कास्कीको एसपी हुँदादेखि हालसम्म यो विषय यथावत रहेको बताउनु भयो ।
आवासीय क्षेत्र र छिमेकीलाई असर नपर्ने गरी डिस्को तथा दोहोरी सञ्चालन गर्दा साउण्डप्रुफ अनिवार्य हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

महानिरीक्षक कार्कीले व्यवसायीलाई ग्राहक सुरक्षालाई पहिलो प्राथमिकता दिन, आधिकारिक सुरक्षाकर्मी, धुम्रपान कक्ष र पार्किङको व्यवस्था गर्न सुझाव दिनु भयो ।
साथै सामुदायिक सेवा केन्द्रलाई अपराध नियन्त्रणसँग जोडेर समुदायका समस्या पहिचान गर्दै शान्ति–सुरक्षाका सवाललाई प्राथमिकतामा राखी समाधान खोज्नुपर्ने र समुदायमा मेलमिलापको वातावरण बनाउनुपर्ने बतानु भयो ।
कार्यक्रमको सङ्ख्या बढाउनुभन्दा प्रभावकारिता र उपलब्धिको समीक्षा गरी समयानुकूल कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतम, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन व्यवसायी कृष्ण आचार्य, शोभा पाण्डेलगायतले व्यवसायी र आमनागरिकको शान्ति–सुरक्षाबारे धारणा राख्दै शुभकामना व्यक्त गर्नु भयो ।
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मनपति भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकायाले गर्नु भएको थियो ।

कार्यक्रममा पोखरास्थित पर्यटन व्यवसायी, पूर्व प्रहरी सङ्गठन, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैबिच, जेनजी आन्दोलनका क्रममा कर्तव्य पालनाका क्रममा काठमाडौंको कोटेश्वरमा ज्यान गुमाउनु भएका प्रहरी सहायक हवलदार अमृत गुरुङको परिवारलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा उच्चस्तरीय सरकारी टोली कास्कीको रुपा गाउँपालिका पुग्नु भएको छ ।
भेटका क्रममा गृहमन्त्री अर्यालले परिवारलाई सान्त्वना दिँदै राष्ट्रका लागि प्राण उत्सर्ग गर्ने वीर सपूतका अभिभावक हुनुमा गर्व गर्नुपर्ने बताउनु भयो । महानिरीक्षक कार्कीले प्रहरी सङ्गठनले गुरुङको बलिदान कहिल्यै नबिर्सने प्रतिज्ञा व्यक्त गर्नु भयो ।
भेटघाटमा गृह सचिव रामेश्वर दङ्गाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थिति रहेको थियो ।