मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एकीकृत सामुदायिक विकास परियोजनाको अनुगमन सम्पन्न

पोखरा । नौलो घुम्ती नेपालले गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कास्की जिल्लामा सन् २०१६ देखि सञ्चालन गर्दै आएको एकीकृत सामुदायिक विकास परियोजनाको स्थलगत अनुगमन सम्पन्न भएको छ । परियोजना मादी गाउँपालिका वडा नं. ८, ९, १० र ११, अन्नपूर्ण गाउँपालिका वडा नं. ४, ६ र ७ तथा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ र ९ मा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन र बाल संरक्षणका क्षेत्रमा स्थानीय पालिकासँगको समन्वयमा सञ्चालन हुँदै आएको छ ।

बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस परियोजनाअन्तर्गत कास्की जिल्लाका ४२ साझेदार सामुदायिक विद्यालयमा अति विपन्न परिवारका १ हजार ७३ जना प्रायोजित विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग, विद्यालय भौतिक सुधार, पुस्तकालय, विज्ञान तथा गणित प्रयोगशाला स्थापना, शिक्षक–अभिभावक क्षमता अभिवृद्धि कार्यक्रम, प्रविधिमैत्री शिक्षण–सिकाइ सामग्री, बाल क्लब गठन तथा परिचालन, गुनासो सुनुवाइ प्रणाली र भित्ते पत्रिका प्रकाशनलगायतका गतिविधि सञ्चालन हुँदै आएका छन् ।

यसैगरी, प्रायोजित बालबालिकाका अभिभावकहरूको जीविकोपार्जन सुदृढीकरणका लागि छ वटा सहकारीमार्फत घुम्ती कोष परिचालन, कृषि औजार तथा बीउबिजन सहयोग, क्षमता विकास तालिम, प्राकृतिक खेती प्रणाली प्रवर्द्धन, सहकारीको संस्थागत विकास तथा आयआर्जनसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा परियोजनाले कार्यक्षेत्रभित्रका ३९ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री सहयोग, भौतिक स्तरोन्नति, स्वास्थ्य शिविर सञ्चालन तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउँदै आएको छ । साथै, बाल संरक्षणका लागि वडा स्तरीय बाल अधिकार समिति गठन, पालिका स्तरीय बाल कचहरी तथा संवाद कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

यस सन्दर्भमा संस्थाका अध्यक्ष सुरेन्द्र थापा मगर, प्रथम उपाध्यक्ष मङ्गल बहादुर नेपाली तथा कार्यसमिति सदस्य नारायण प्रसाद पौडेलसहितको अनुगमन टोलीले मादी गाउँपालिकामा सञ्चालित परियोजनाका गतिविधिहरूको संयुक्त अनुगमन गरेको हो ।

अनुगमन टोलीले मादी गाउँपालिका–१०, थुम्सिकोटस्थित श्री जनमन्दिर आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र कक्षाकोठा व्यवस्थापन, ६६ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग, शिक्षकहरूका लागि सूचना तथा सञ्चार प्रविधि तालिम, विज्ञान प्रयोगशाला सामग्री, महिनावारी स्वच्छता कक्ष व्यवस्थापन, बाल क्लब परिचालन तथा भित्तेपत्रिका प्रकाशनलगायत सहयोगबाट विद्यालयको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुगेको विद्यालयकी प्रधानाध्यापक अमृता सुवेदीले जानकारी दिनु भयो ।

सो अवसरमा शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र गौतमसँग अन्तरक्रिया तथा कक्षाकोठा अनुगमनसमेत गरिएको थियो ।

त्यस्तै, मादी गाउँपालिका–१०, मकैखोलास्थित श्री जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधराज बास्तोलाले स्मार्ट बोर्ड, ४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति, बाल क्लब तालिम, महिनावारी स्वच्छता कक्ष व्यवस्थापनलगायत सहयोगले विद्यार्थीहरूको शैक्षिक उपलब्धि क्रमशः सुधार भइरहेको बताए ।

मादी गाउँपालिका–१०, भाचोकस्थित श्री सेवा मिलन आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद सुवेदीले २१ जना बालबालिकालाई शैक्षिक सामग्री, पुस्तकालय सहयोग, कक्षाकोठा मर्मत, बाल क्लब तथा शिक्षक तालिमका कारण विद्यार्थीको नियमित उपस्थितिमा सुधार आएको उल्लेख गरे ।

अनुगमनका क्रममा प्राकृतिक खेती प्रणालीमा आबद्ध अगुवा कृषक आरती गुरुङले परियोजनाबाट प्राप्त तालिमका आधारमा विषादीमुक्त तरकारी उत्पादन गरी स्थानीय बजारमा बिक्री गरिरहेको जानकारी दिइन् ।

अनुगमन टोलीले मादी गाउँपालिका–११, सैमराङस्थित तोगी लम्तरी कफी उत्पादक सहकारी संस्थामा उपलब्ध गराइएको १८ लाख ६८ हजार ८९६ रुपैयाँ बराबरको घुम्ती कोषमार्फत ११३ जना सेयर सदस्य लाभान्वित भएको र ६१ प्रायोजित घरधुरी सहकारीमा आबद्ध भई जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी लिएको छ । साथै, सैमराङ स्वास्थ्य चौकीमा उपलब्ध गराइएका स्वास्थ्य उपकरण तथा बर्थिङ सेन्टर सामग्रीको प्रयोग अवस्थाको समेत अनुगमन गरिएको छ ।

यसैगरी, मादी गाउँपालिका–११, सैमराङस्थित राष्ट्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास सुवेदीले परियोजनाको सहयोगमा भौतिक तथा शैक्षिक विकास भएको र माध्यमिक शिक्षा परीक्षा २०८१ मा विद्यालय पालिका प्रथम हुन सफल भएको जानकारी दिए । सो अवसरमा २७ जना प्रायोजित बालबालिकालाई न्यानो कपडा हस्तान्तरणसमेत गरिएको थियो ।

मादी गाउँपालिका–९, मुग्रीबेसीस्थित श्री बालकल्याण आधारभूत विद्यालयमा स्मार्ट बोर्ड, सोलार ब्याकअप, अपाङ्गता तथा बालमैत्री संरचना, शैक्षिक सामग्री तथा छात्रवृत्तिका कारण शिक्षण–सिकाइ प्रक्रिया सहज भएको प्रधानाध्यापक विष्णुहरि अधिकारीले बताए ।

अनुगमनपश्चात् अध्यक्ष सुरेन्द्र थापा मगरले परियोजनाले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र बाल संरक्षण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै स्थानीय सरकार, विद्यालय, समुदाय र सहकारीसँगको सहकार्यले समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुगेको बताए । प्रथम उपाध्यक्ष मङ्गल बहादुर नेपाली र कार्यसमिति सदस्य नारायण प्रसाद पौडेलले परियोजनाको प्रभावकारिता स्पष्ट देखिएको र आगामी दिनमा समावेशी तथा दिगो विकासका लागि सहकार्य थप सुदृढ बनाइने बताए ।

उक्त अनुगमन कार्यक्रमको समन्वय तथा व्यवस्थापन परियोजनाका कार्यक्रम अधिकृत महेश कुमार विश्वकर्मा तथा वित्त तथा प्रशासन अधिकृत तुल बहादुर रानाभाटले गरेका थिए ।

Author

Related News