ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले जेन्जी आन्दोलनपश्चात उपत्यकाभित्रका विभिन्न प्रहरी हिरासत कक्षहरूको अवस्था अनुगमन गरेको छ ।
कात्तिक २७ र २८ गते गरिएको स्थलगत अनुगमनमा काठमाडौंका सोह्रखुट्टे, स्वयम्भू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटी प्रहरी वृत्त, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाती, मध्यपुर र ठिमीस्थित प्रहरी वृत्त समावेश थिए ।
आयोगका प्रदेश तथा शाखा कार्यालयमार्फत उपत्यका बाहिरका हिरासतहरुको अनुगमन पनि अघि बढाइएको छ ।
आन्दोलनपछिका घटनाबारे आयोगमा प्राप्त गुनासा, उजुरी र ज्ञापनपत्रका आधारमा गरिएको अनुगमनमा थुनुवाहरूमाथि मानव अधिकारसम्बन्धी केही समस्या देखिएका जनाइएको छ ।
थुनुवाहरूले स्वास्थ्य परीक्षण गरिए पनि हिरासतभित्र शौचालय र सरसफाईको अभावका कारण दुर्गन्ध आउने, पक्राउ प्रक्रियामा पुर्जी नदिइएको, महिला कक्ष अभाव तथा भौतिक संरचना कमजोर भएको गुनासो आयोगसमक्ष राखिएको छ ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न प्रमाणका आधारमा केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
जेन्जी प्रदर्शनका कारण धेरै प्रहरी कार्यालयका भवन, कागजात लगायतका भौतिक सामग्री नष्ट भएका छन् ।
केही हतियार लुटिएको, हिरासतबाट भागेका थुनुवाहरू अझै नफर्केको तथा यसले शान्तिसुरक्षामा चुनौती थपिएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।
स्थानीय समुदायको सहयोगमा केही संरचना पुनः निर्माण भए पनि अत्यावश्यक सामग्री र पुनर्निर्माणका लागि बजेट अभाव देखिएको आयोगले जनाएको छ ।
आयोगले हिरासत कक्षमा देखिएका सरसफाइ, संरचनागत कमजोरी, सुरक्षा चुनौती तथा मानव अधिकारसम्बन्धी समस्याको शीघ्र समाधानका लागि नेपाल सरकारलाई आवश्यक ध्यान पुर्याउन आग्रह गरेको छ ।
