पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक स्थानीय तह मातहत रहेका आधारभूत अस्पतालहरूका समस्या र गुनासा बुझ्न गाउँगाउँको भ्रमणमा हुनुहुन्छ ।
२०८२ कात्तिक २२ र २३ गते मन्त्री पाठकले पर्वत जिल्लाको प्रदेश निर्वाचन क्षेत्र-१ अन्तर्गत रहेका चार ओटा आधारभूत अस्पताल तथा एक आयुर्वेद अस्पतालको निरीक्षण गर्नु भयो ।
स्थानीय तहका महाशिला आधारभूत अस्पताल, वहाकीठाँटी स्वास्थ्य चौकी, प्रादेश आयुर्वेद चिकित्सालय फलेवास लगायतका रहेका छन् ।

निरीक्षणका क्रममा अस्पतालहरूको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्था, औजार उपकरणको अवस्था तथा सेवाग्राहीहरूले भोगिरहेका समस्याहरू बारे विस्तृत जानकारी लिनु भयो ।
चारै स्थानीय तहका प्रमुख/उपप्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अस्पताल व्यवस्थापक तथा कर्मचारीहरूको उपस्थितिमा मन्त्री पाठकले अस्पतालहरूका चुनौती तथा सुधारका आवश्यकता बारे छलफल गर्नु भयो ।
मन्त्री पाठकका अनुसार प्रदेश सरकारले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाहरूलाई जनशक्ति पूर्ति, औजार उपकरण र भौतिक पूर्वाधारका क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।

उक्त निरीक्षणमा पर्वत जिल्ला प्रदेशसभा क्षेत्र नं १ का सांसद तथा उद्योग पर्यटन मन्त्री मित्रलाल बस्याल समेत सहभागी हुनु भएको थियो ।