पोखरा । मानव अधिकारका सवालमा सक्रिय संस्था मानव अधिकार संरक्षण मञ्च (मासम) केन्द्रीय समितिको बैठकले देशमा मानव अधिकारको पछिल्लो अवस्था र हालैका घटनाक्रमबारे समीक्षा गर्दै आठ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
मासमका महासचिव डा. श्रीकान्त खतिवडाका अनुसार, २०८२ भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को नाममा भएको आन्दोलनका क्रममा राज्यद्वारा गरिएको अत्यधिक बल प्रयोगका कारण २२ सहित ७६ जनाको मृत्यु भएकोमा संस्थाले गहिरो दुःख प्रकट गरेको छ ।
बैठकले मृतकका परिवारलाई उचित राहत, घाइतेको उपचार तथा अशक्त भएकाहरूका लागि जीविकोपार्जनको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेको महासचिव खतिवडाले बताउनु भयो ।
त्यसैगरी, आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका सरकारी निकाय तथा निजी सम्पत्तिमा गरिएका आगजनी, तोडफोड र लुटपाट घटनाबारे चिन्ता व्यक्त गर्दै, ती घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र देशमा शान्ति-सुरक्षा कायम गर्न सरकारलाई आग्रह गरिएको बैठकले जनाएको छ ।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको सन्दर्भमा, शान्तिपूर्ण र सुरक्षायुक्त निर्वाचन वातावरण बनाउन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरू सबैलाई संयम र जिम्मेवार भूमिका निर्वाह गर्न मञ्चले आग्रह गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

