मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

राजनीतिक कार्यक्रम गर्न अनिवार्य अनुमति : प्रजिअ शर्मा

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै कास्की जिल्लामा निर्वाचन गतिविधि तीव्र बन्दै जाँदा जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा तथा व्यवस्थापनमा थप कडाइ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षले आआफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

प्रजिअ शर्माका अनुसार निर्वाचन केन्द्रित गतिविधि तथा राजनीतिक कार्यक्रमहरूलाई व्यवस्थित, अनुशासित र शान्तिपूर्ण बनाउन कडाइका साथ मापदण्ड लागू गरिनेछ ।

सर्वदलीय बैठकको निर्णयअनुसार जिल्लाभित्र जुलुस, आमसभा, कोणसभा, बैठक तथा भेला जस्ता कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रूपमा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले कुनै पनि कार्यक्रम आयोजना गर्दा कम्तीमा २४ घण्टा अगावै मिति, समय, स्थान, मार्ग तथा सम्पर्क विवरण खुलाएर लिखित जानकारी प्रशासनमा दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त आग्रह २०८२ फागुन ३ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

प्रशासनले बजार क्षेत्र, मुख्य सडक, चोक तथा व्यावसायिक स्थानमा अनावश्यक अवरोध नपुर्‍याउन विशेष ध्यान दिन पनि निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार व्यापार-व्यवसाय तथा यातायात सञ्चालनमा प्रत्यक्ष असर पर्ने स्थानमा कार्यक्रम नगर्न र उपयुक्त स्थल छनोट गर्न पनि आग्रह गरिएको छ ।

यसैगरी, एकै समय र स्थानमा फरक–फरक दलका कार्यक्रम जुध्न नदिन आपसी समन्वय र तालमेल मिलाउन समेत प्रशासनले सुझाव दिएको छ ।

कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न पुनः स्मरण गराउँदै आचारसंहिताविपरीत गतिविधि भए कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ । सबै पक्षलाई सहकार्य, संयमता र जिम्मेवारीपूर्ण व्यवहार अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

Author

Related News