मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कार्यसम्पादन मूल्याङ्कन: कास्कीमा माछापुच्छ्रे गाउँपालिका पहिलो

पोखरा । कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये माछापुच्छ्रे गाउँपालिका चालु आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम बनेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ८ अङ्कसहित माछापुच्छ्रे जिल्लामै उत्कृष्ट ठहरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीका अनुसार आयोगले कुल १७ सूचकका आधारमा स्थानीय तहको मूल्याङ्कन गरेको छ ।

वित्तीय अनुशासन, पारदर्शिता र समयमै बजेट व्यवस्थापनलाई प्राथमिकता दिएकै कारण उत्कृष्ट नतिजा सम्भव भएको उहाँको भनाइ छ ।

“उत्कृष्ट नतिजा ल्याउन सबैको भूमिका छ, आगामी दिनमा अझ राम्रो गर्दै जानेछौँ ।” -उहाँले भन्नु भयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका ६९ दशमलव ५६ अङ्कसहित दोस्रो स्थानमा रहँदा रुपा गाउँपालिका ६३ दशमलव ४५ अङ्कसहित तेस्रो भएको छ ।

पोखरा महानगरपालिका ले ५८ दशमलव ७६ अङ्कसहित चौथो स्थान हासिल गर्दा मादी गाउँपालिका ४८ दशमलव ३२ अङ्कसहित पुछारमा परेको छ ।

गत वर्ष पनि माछापुच्छ्रे गाउँपालिका नै जिल्लामा प्रथम बनेको थियो । आयोगले मूल्याङ्कनका लागि असार १० भित्र बजेट सार्वजनिक गरे-नगरेको, असार मसान्तभित्र बजेट पारित गरे-नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने राजस्वको ४० प्रतिशत रकम समयमै प्रदेश सञ्चित कोषमा दाखिला गरे-नगरेको लगायत सूचकलाई आधार मानेको जनाएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा बुझाए-नबुझाएको, कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरे-नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु व्यवस्थापन, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर र टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसईई नतिजा तथा खोप लगाइएका बालबालिकाको अनुपात जस्ता सूचकहरूलाई समेत समेटिएको छ ।

आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई कार्यसम्पादनमा आधारित समानीकरण अनुदान उपलब्ध गराउने गर्दछ ।

स्थानीय तहबीच प्रतिस्पर्धात्मक ढङ्गले वित्तीय सबलीकरण प्रवर्धन गर्ने उद्देश्यले सरकारले हरेक वर्ष यस्तो मूल्याङ्कन सार्वजनिक गर्दै आएको छ ।

Author

Related News