बर्दिया । बढैयाताल गाउँपालिकामा चोरीडकैतीको सम्भावना बढेसँगै स्थानीयले रातभर गस्ती सुरु गरेका छन् ।
‘आफ्नो सुरक्षा आफैँ गरौँ’ भन्ने नारासहित गाउँपालिकाभित्रका मैनापोखर, भोलागौडी, सिमरालगायत स्थानमा स्थानीय बासिन्दाले गस्ती गर्ने गरेको पाइएको छ ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै गाउँसमाजमा गलत नियत बोकेका व्यक्तिहरु सक्रिय हुन सक्ने आशङ्कामा स्थानीय शतर्क बनेका हुन् ।
मैनापोखरका व्यापारी तथा स्थानीयले स्वसुरक्षाका लागि रातमा गस्ती थालिएको बताएका छन् ।

व्यापारी ज्ञानेन्द्रराज पोखरेलले भन्नु भयो- “गस्ती टोलीले रातको समयमा बिना काम हिँडडुल गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी वा नेपाली सेनालाई बुझाउने व्यवस्था मिलाइएको छ।”
जेनजी आन्दोलनपछि समुदायमा त्रास बढेपछि व्यापारी, उद्योगी, राजनीतिक दलका नेता तथा कार्यकर्ता बढी प्रभावित बनेका छन् ।
यसै कारण भदौ २५ गतेदेखि गाउँपालिकाभित्रका महत्वपूर्ण स्थानमा गस्ती सुरु गरिएको स्थानीय प्रेमराज त्रिपाठीले जानकारी दिनु भएको छ ।