मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मनसुन सक्रियसँगै सवारी सञ्चालनमा सावधानी अपनाउन स्थानीय प्रशासनको अपिल

मधु पन्थी, पोखरा ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुनजन्य सक्रियता  बढेसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका ग्रामीण तथा पर्यटकीय सडक खण्डमा सवारी साधन सञ्चालनको समय तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

मानवीय र भौतिक क्षति नह‍ोस भन्ने उद्देश्यले स्थानीय  प्रशासनले २०८२ असार २५ गतेदेखि  साउनको १० गते सम्मका लागि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूमा समय तालिका अनुसार सवारी सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माको अध्यक्षतामा  बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा मनसुनजन्य विपद्बाट बच्न अपनाउनुपर्ने सतर्कताबारे छलफल भएको प्रजिअ शर्माले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार पोखरा देखि कास्कीको ग्रामिण क्षेत्रहरू पर्यटकीय क्षेत्र घान्द्रुक, उल्लेरी र लान्क जाने सडकहरू (वीरेठाँटी घान्द्रुक, वीरेठाँटी-उल्लेरी र लुम्ले-लान्द्रुक) मा चल्ने सवारी साधनले बिहान ५ बजेदेखि बेलुका  ५ बजेभित्र आफ्नो प्रस्थानविन्दुबाट गन्तव्यका लागि आवतजावत  गर्न पाउने बताउनु भयो ।

पोखराको काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले पनि बिहान ५ बजेपछि मात्र आवतजावत सुरु गर्न सक्नेछन् भने साँझ ४:३० बजेभित्र प्रस्थानविन्दुबाट छुटिसक्नुपर्ने छ ।

प्रशासनले तोकिएको समयपछि ती सडकखण्डमा सवारी चलाउन पूर्णरूपमा रोक लगाएको छ । कास्की प्रशासनले यात्रामा सावधानी अपनाउन सबैमा अनुरोध आग्रह गरेको छ ।

Author

Related News