ललितपुर । इकुडोलको जनजागृति माध्यमिक विद्यालयको पुस्तकालयका लागि वरिष्ठ आख्यानकार प्राज्ञ माया ठकुरी, साहित्यकारहरू गोपाल सञ्जेल र केदार पनेरुले २ सयभन्दा बढी पुस्तक प्रदान गर्नु भएको छ ।
सातदोबाटोमा २०८२ साउन २६ गते साहित्यकार माया ठकुरीले आफ्नै कथासङ्ग्रहसहित पुस्तक प्रदान गर्दै ६–७ वर्षदेखि गाउँगाउँमा पुस्तक प्रदान अभियान चलाउँदै आएको बताउनु भयो ।
उहाँले भन्नु भयो-‘घरैबाट संस्कारको विकास गर्नुपर्छ । पुस्तक पढ्ने संस्कारको विकासका लागि उपर्युक्त थलो भनेकै घर हो ।’
साहित्यकार एवम् इकुडोल गाविसका अध्यक्ष गोपाल सञ्जेलले आफ्ना रचनासहित पुस्तक प्रदान गर्दै, अध्यक्ष हुँदा तीन वर्ष शिक्षण र अध्यक्षको जिम्मेवारी सँगसँगै निभाएर विद्यालय स्थापना गरेको सम्झनु भयो । ‘शिक्षक र विद्यार्थी दुवै खुसी हुँदा मात्र राम्रो शैक्षिक वातावरण बन्छ ।’-सञ्जेलले भन्नु भयो ।
त्यस्तै, साहित्यकार केदार पनेरुले आफ्ना रचनासहित पुस्तक प्रदान गर्नु भयो । उहाँले वरिष्ठ साहित्यकार माया ठकुरीसँगै पुस्तक प्रदान गर्न पाउँदा खुशी लागेको बताउनु भयो । साहित्य सिर्जनाका लागि पुस्तक पढ्ने बानीको विकास गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
विद्यालयका प्रधानाध्यापक पुण्डरिक दङ्गालले पुस्तकहरू ग्रहण गर्दै, पुस्तकको महत्वबारे जर्ज आर.आर. मार्टिनको भनाइ उद्धृत गर्नु भयो- ‘जसरी तलवारलाई तिखार्न ढुङ्गा आवश्यक पर्छ, त्यसरी नै मस्तिष्कलाई तेज बनाउन पुस्तक आवश्यक पर्छ।’
यस पुस्तक प्रदानले विद्यालयको पुस्तकालय समृद्ध बन्नुका साथै विद्यार्थीमा अध्ययनप्रतिको उत्साह थपिने अपेक्षा गरिएको छ।
जनजागृति माविका पूर्व विद्यार्थी सरिता घिमिरे र नवराज सञ्जेलले पुस्तक र पुस्तकालयको चर्चा गर्नु भएको थियो ।