पोखरा । गण्डकी प्रदेशको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्य फेवाताल नजिकै, पोखरा महानगरपालिका-१८ सिम्पानी (बंग्लादी) स्थित कैलाशधाम शिवमन्दिर परिसरमा रहेका विभिन्न बोटविरुवाहरूको २०८२ साउन ३१ गते गोडमेल कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ पोखरा स्काई टाउनको आयोजनामा सम्पन्न कार्यक्रममा आँप, अमला, रूद्राक्ष, टिमुर, वरपिपल, अम्वा, लिची, एभोगाडो, चाइनिज कटोस र पारिजातलगायतका प्रजातिका बोटविरुवाहरूको गोडमेल गरिएको क्लबका निर्वतमान अध्यक्ष एवम् जोन–१२ का चियर पर्सन ईन्जिनियर लायन नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।
शिवमन्दिर संरक्षणमा विगत तीन दशकभन्दा बढी योगदान पुर्याउँदै आएका मन्दिरका अध्यक्ष गिरीराज अधिकारीले ७१४ रोपनीमा फैलिएको शिवमणी वन संरक्षणका लागि २०४७ सालदेखि सक्रिय रहँदै आएको बताउनुभयो ।
उहाँका अनुसार केवल दिवस वा पर्वमा मात्र वृक्षारोपण गरेर नहुने, त्यसको नियमित गोडमेल र संरक्षण गर्न जरुरी हुनेमा जोड दिनुभयो ।
अध्यक्ष अधिकारीले करिब ५० रोपनीमा फैलिएको मन्दिर परिसरमा गणेश मन्दिर, अग्नीकुण्ड, शिवपञ्चायन नवग्रह मन्दिर र बहुउद्देश्यीय अशोक भवन रहेको जानकारी दिनुभयो ।
तर, शिवमणी वन उपभोक्ता समितिको दुई–दुई वर्षमा साधारणसभा भए पनि आर्थिक कोष अभावले नेतृत्व लिन कोही नआउने दुखेसो उहाँले राख्नुभयो ।
त्यसैगरी, कैलाशधाम शिव मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष टेकनाथ अधिकारीको अग्रसरतामा मन्दिरको पुनर्निर्माण गरी अक्षकोष स्थापना गरिएको र त्यसको ब्याज, स्थानीय समुदाय तथा दाताको सहयोगबाट व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो ।
लायन्स क्लब अफ पोखरा स्काई टाउनका संस्थापक अध्यक्ष एवम् लायन्स ३२५ एम का डिस्ट्रिक चिफ लायन डोलराज पाण्डेले नौ वर्षअघि गरिएको वृक्षारोपणलाई निरन्तर संरक्षण गर्दै गोडमेललाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रयास नेपाल पोखराकी अध्यक्ष शर्मिला भट्टराईले जसरी सन्तानलाई हेरचाह गरिन्छ, त्यसरी नै रोपिएका बोटविरुवाको संरक्षण गर्न सके मात्र प्रकृति–मैत्री जीवनशैली सम्भव हुने बताउनुभयो ।
उहाँले वृक्ष तथा वनस्पतिहरूको संरक्षणसँगै चराचुरुङ्गी र बन्यजन्तुको समेत संरक्षण हुने भएकाले यसमा सबैले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक लायन प्रेमबहादुर कुँवरका अनुसार वार्षिक कार्ययोजना अनुरूप बोटविरुवा गोडमेलसँगै मन्दिर परिसरमा सरसफाई अभियान समेत सञ्चालन गरिएको छ।