पोखरा । पोखरा महानगरपालिका–८ स्थित न्यू मोडल विद्यालय परिसरमा ११ देखि १३ वर्ष उमेर समूहका विद्यार्थीहरूबीच पिस पोष्टर प्रतियोगिता २०८२ कात्तिक २६ गते सम्पन्न गरिएको छ ।
विद्यार्थीहरूमा रहेको कलात्मक क्षमता, सामाजिक चेतना र अन्तर्राष्ट्रिय स्तरमा सिर्जनात्मकता प्रदर्शन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
सन् २०२५/२६ का लागि ” खुशीका लागि सेवा ” भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगिता लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एम, नेपाल, क्लस्टर–२, रिजन–६, जोन–१२ अन्तर्गतको लायन्स क्लब अफ पोखरा स्काई टाउनको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष लायन लक्ष्मण पोखरेलका अनुसार ” जब हामी सँगै आउँछौं, हामी अद्भुत काम गर्न सक्छौं ” भन्ने विचारमा आधारित यस वर्षको पिस पोष्टर प्रतियोगिताले बालबालिकामा सिर्जनात्मक सोच र सहकार्यको भावना प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।
प्रमुख अतिथि तथा डिस्ट्रिक ३२५ एम पिस पोष्टर संयोजक लायन लेखनाथ पौडेलले लायन्स क्लब सामाजिक सेवामा अग्रणी संस्था भएकाले बालबालिकाको कलात्मक क्षमता र सामाजिक चेतना विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भयो ।
प्रतियोगितामा न्यू मोडल माध्यमिक विद्यालय, सृजना माध्यमिक विद्यालय र एक्सआर्मी माध्यमिक विद्यालयका गरी १२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
पोस्टरको आकार न्यूनतम ३३ से.मी. × ५० से.मी. र अधिकतम ५० से.मी. × ६० से.मी. निर्धारण गरिएको थियो । प्रत्येक विद्यार्थीले एक–एक ओटा मौलिक सिर्जना प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा एक्सआर्मी माध्यमिक विद्यालयकी जेसिका थापा पहिलो, सृजना माध्यमिक विद्यालयकी आयुष्मा मिश्र दोस्रो र न्यू मोडल माध्यमिक विद्यालयकी सुसम रानाभाट तेस्रो स्थान हासिल गर्न सफल हुनु भएको छ ।
उत्कृष्ट तीनै जनालाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी सबै विद्यार्थीलाई प्रशंसापत्र दिइएको थियो ।
कार्यक्रममा क्लस्टर–२ संयोजक लायन लक्ष्मी कोईराला, स्काई टाउनका पूर्व अध्यक्ष तथा जोन–१२ का जोन चेयरपर्सन लायन नेत्रप्रसाद तिमल्सिना, एक्सआर्मी माध्यमिक विद्यालयका प्रिन्सिपल मोहनलाल पौडेल र न्यू मोडल माध्यमिक विद्यालयका प्रिन्सिपल भेषराज पोखरेल लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले लायन्सकर्मीहरूले गर्दै आएका सामाजिक कार्यहरूले विद्यालय, समुदाय र समाजमा सकारात्मक प्रभाव पारेको भन्दै यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।