मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

लायन्स क्लब फिस्टेल सिटीद्वारा प्रहरी भवन मर्मत सम्भार

पोखरा । लायन्स क्लब पोखरा फिस्टेल सिटीले २०८२ भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका जिल्ला प्रहरी कार्यालय, कास्कीका केही कोठाहरू मर्मत सम्भार गरी प्रहरीलाई हस्तान्तरण गरेको छ ।

करिब २ लाख ५ हजार रुपियाँको लागतमा गरिएको मर्मत कार्यको उद्घाटन तथा हस्तान्तरण समारोह २०८२ कात्तिक १२ गते सम्पन्न भएको हो ।

उक्त भवन प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा एक समारोहकाबिच क्लबका अध्यक्ष भीमा पौडेलले हस्तान्तरण गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ एमका डिस्ट्रिक्ट गभर्नर लायन धनीराम बरालले क्लबले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा निरन्तर योगदान पुर्‍याउँदै आएको भन्दै जिल्ला प्रहरी कार्यालयको भौतिक संरचना सुधारमा गरेको सहकार्य प्रशंसनीय रहेको बताउनु भयो ।

उहाँले प्रहरी र नागरिक एक अर्काका परिपूरक भएकाले पछिल्लो समयमा नागरिकको दृष्टिकोण सकारात्मक बन्दै गएको र प्रहरीको काम प्रभावकारी भएकोमा खुशी व्यक्त गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले लायन्स क्लब जस्तो सामाजिक संस्थाले मानवीय दृष्टिकोण र मानवअधिकार सुनिश्चिततासँगै समाजमा सकारात्मक योगदान पुर्‍याइरहेको बताउँदै धन्यवाद ज्ञापन गर्नु भयो ।

उहाँले संस्थाले लिएको उद्देश्यअनुसार काम गरेकोमा प्रशंसा गर्दै, आगामी दिनहरूमा पनि लायन्सकर्मीहरूले स्वयम्सेवी भावनाले मानवसेवामा निरन्तरता दिने विश्वास व्यक्त गर्नु भयो ।

साथै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबैले सकारात्मक सोचका साथ समाजसेवी अभियानलाई अगाडि बढाउन आग्रह गर्नु भयो ।

अध्यक्ष पौडेलका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कन्ट्रोल रूम (जिप्सन), निवेदन शाखा (वायरिङ), साथै जिन्सी समानहरू-म्याट्रेस र सिरानी प्रदान गरी मर्मत तथा पुनःनिर्माण गरिएको हो । उक्त कार्यमा प्रसुन्ना एण्ड प्रसुन सप्लायर्सले श्रमदान समेत गरेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष भीमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य डिस्ट्रिक सिनियर सिटिजन तारा गिरीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जोन चेयर पर्सन लोकनाथ पौडेलले गर्नुभएको थियो ।

Author

Related News