पोखरा । कर्मफ्लाइट्स फाउण्डेशन नेपाल, पोखराको संयोजन तथा एजुकेशन फर लाइफ (ईएफएल), नर्वेको आर्थिक सहयोगमा बागलुङका पाँच विद्यालयमा पुस्तकालय स्थापना तथा बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ ।
असोज ४, ५ र ६ गते सञ्चालित अभियानअन्तर्गत विद्यालयहरूमा कुल ४ लाख ६ हजार ८६ रुपियाँ बराबरका पुस्तक तथा पुस्तकालय सामग्री हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
यस्तै, बाढीपहिरो पीडितका लागि २५ हजार ५ सय रुपियाँ बराबरको राहत सहयोग गरिएको छ ।
अभियानअन्तर्गत बागलुङ नगरपालिका-६, भान्सामा रहेको श्री जयनारायण कौशिल्या संस्कृत गुरुकुलमा ९० हजार ३ सय ७९ रुपियाँ बराबरका संस्कृत तथा नेपाली भाषाका धार्मिक र सामाजिक पुस्तक हस्तान्तरण गरिएको थियो ।
टोली प्रमुख तथा एजुकेशन फर लाइफका कार्यक्रम निर्देशक कृष्णप्रसाद पोखरेलले कर्मफ्लाइट्स फाउण्डेशन र ईएफएलको लामो पुस्तकालय अभियानमा संस्कृत गुरुकुलमा यस प्रकारको पुस्तकालय स्थापना गरिएको पहिलोपटक भएको बताउनुभयो ।
त्यसैगरी, ढोरपाटन नगरपालिका-७, गाल्दुङस्थित श्री तीर्थज्योति आधारभूत विद्यालयमा ७५ हजार २ सय ५६ रुपियाँ, ढोरपाटन नगरपालिका-८, बोबाङस्थित श्री ढोरपाटन जनवादी आधारभूत विद्यालयमा ९० हजार १ सय ९५ रुपियाँ तथा ढोरपाटन नगरपालिका-६, घैयाखानीस्थित श्री जनता आधारभूत विद्यालयमा ७५ हजार २ सय ५६ रुपियाँ बराबरका पुस्तक तथा पुस्तकालय सामग्री हस्तान्तरण गरिएको थियो ।
निसीखोला गाउँपालिका-६, लुप्राबाङस्थित श्री नव सिर्जनशील आधारभूत विद्यालयमा पनि ७५ हजार २ सय ५६ रुपियाँ बराबरका पुस्तक हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
पुस्तकालय हस्तान्तरण कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष तथा सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो ।
अभियानले दुर्गम क्षेत्रका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई अध्ययन तथा ज्ञानको पहुँच विस्तार गर्न सहयोग पुगेको सहभागीहरूले बताएका थिए ।
ढोरपाटन नगरपालिकाको शिक्षा शाखाका राजु विकले कर्मफ्लाइट्स फाउण्डेशन र ईएफएलले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।
शैक्षिक क्षेत्रमा सहयोग गरेर संस्थाले स्थानीय सरकारलाई समेत सहयोग पुर्याएको उहाँको भनाइ थियो ।
यसैगरी, निसीखोला गाउँपालिका-४ का बाढीपहिरो प्रभावित १२ घरधुरीलाई वडा कार्यालयको प्राङ्गणमा राहत वितरण गरिएको थियो ।
कर्मफ्लाइट्स फाउण्डेशनमार्फत २५ हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको कार्यक्रममा कार्यपालिका सदस्य गीता सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
सदस्य सापकोटाले बाढीपहिरोबाट प्रभावित परिवारलाई संस्थाले राहत उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै विपद्का समयमा गरिएको सहयोगले पीडित परिवारलाई राहत पुग्ने बताउनुभयो ।