मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लेखनाथ महोत्सव लक्ष्यभन्दा बढी सफल, आयोजकमा थप उत्साह

पोखरा  । ‘महोत्सवको पनि महोत्सव’का रूपमा परिचित लेखनाथ महोत्सवले लक्ष्यभन्दा बढी आर्थिक कारोबार गर्दै सफलतापूर्वक सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजना गरिएको २१ औँ लेखनाथ महोत्सवले ११ करोड २० लाख रुपियाँको कारोबार गरेको आयोजक समितिले जनाएको छ ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नाराका साथ २०८२ पुस ३ गतेदेखि सञ्चालन भएको महोत्सव २०८२ पुस १४ गते समापन भएको हो ।

आयोजकका अनुसार महोत्सव अवधिभर ३ लाख ३५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजकले ९ करोड रुपियाँ बराबरको कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखे पनि अपेक्षाभन्दा बढी सफलता हात परेको जनाएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनु भयो ।

उहाँले जेनजी आन्दोलनका कारण व्यवसायीमा परेको क्षति र घटेको मनोबललाई ध्यानमा राख्दै आर्थिक अवस्था सुधारका उपायमा गम्भीर चिन्तन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

पोखरा आसपास सञ्चालन हुने महोत्सवहरू नजुधाउने गरी महानगरले सहजीकरण गर्दै आएको बताउँदै उहाँले साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजना भए पनि तीन वर्षदेखि अघि बढ्न नसकेको स्वीकार गर्नु भयो ।

उक्त योजना कार्यान्वयनका लागि स्थानीयको साथ–सहयोग अपेक्षित रहेको उहाँको भनाइ रहेको थियो ।

महानगरले लेखनाथ क्षेत्रप्रति कुनै विभेद नगरेको स्पष्ट पार्दै प्रमुख आचार्यले ठूला विकास योजना लेखनाथमै केन्द्रित गरिएकाले आगामी दिनमा लेखनाथवासीले विकासमा मर्का परेको अनुभूति गर्न नपर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा आयोजक सङ्घकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आइपुग्दा लेखनाथ महोत्सवले ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउनु भयो ।

उहाँले उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्दै व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवर्धनमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नु भयो ।

प्राकृतिक सम्पदाको संरक्षणमा सबै जुट्नुपर्नेमा जोड दिँदै उहाँले लेखनाथभित्रका सङ्घसंस्था, व्यवसायी, आमा/महिला समूह तथा समग्र लेखनाथवासीको एकताका कारण महोत्सव सफल भएको बताउनु भयो ।

यो अवसरमा महोत्सवबाट हुने बचत रकम प्रस्तावित औद्योगिक क्षेत्र निर्माण र सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जानकारी पनि दिइयो ।

यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक तथा आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी, सूचना प्रविधि, शैक्षिक, हस्तकला तथा स्थानीय उत्पादनका प्रदर्शनीहरू प्रमुख आकर्षण बने ।

विभिन्न जातजातिका लोपोन्मुख संस्कार, रीतिरिवाज झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो ।

महोत्सवमा देशभरका ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान र खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता बढाएको आयोजकले जनाएको छ ।

विशेषगरी स्थानीय परिकार र कृषि उत्पादनको प्रवर्धनबाट स्थानीय व्यवसायी र कृषक लाभान्वित भएका छन् ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै क्रेता–विक्रेतालाई एउटै स्थानमा जोडेर वस्तु तथा सेवाको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

उहाँले रूपा र पोखराको एकीकृत विकासका लागि संयुक्त योजना आवश्यक रहेको सुझाव दिनु भएको छ ।

पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि सामाजिक सङ्घसंस्था र उद्योग–व्यवसायीबिच सहकार्यमा एकीकृत योजना बनाउन आग्रह गर्नु भयो ।

समापनका दिन किनमेलका लागि दर्शकको चाप बढेको र स्टलमा रहेका सामग्री सस्तो भएपछि कारोबारमा उल्लेख्य वृद्धि भएको वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले बताउनु भयो ।

कार्यक्रममा विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने व्यवसायी, कलाकार र दर्शकलाई सम्मान गरिएको थियो ।

सङ्घकी अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले र सञ्चालन महासचिव भरतराज ओझाले गर्नु भएको थियो ।

Author

Related News