काठमाडौं । आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्ह बाहक उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यसहित १५ हजार ५ सय १ सदस्यीय वाम बुद्धिजीवी तथा पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ । पूर्व राजदूत विष्णु पुकार श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिको सहसंयोजकमा प्रेमलकुमार खनाल र सचिवमा कृष्ण केसी चयन भएका छन्। मूल समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासङ्घ, इन्जिनियरिङ एसोसिएशन, कानुन व्यवसायी सङ्गठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी एवम् सदस्यहरू समावेश रहेका छन् ।
मूल समितिको कामलाई व्यवस्थित गर्न ५५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। सचिवालयको संयोजकमा विष्णुपुकार श्रेष्ठ, सहसंयोजकमा प्रेमलकुमार खनाल र सचिवमा कृष्ण केसी रहनु भएको छ ।
आर्थिक परिचालन संयोजकमा लक्ष्मीप्रसाद पण्डित चयन हुनु भएको छ । सचिवालय सदस्यहरूमा प्रा. डा. गोविन्द सुवेदी, समर नेपाल, सि. ढकाल, प्रा. डा. शिवशरण महर्जन, डा. बिसी शर्मा, डा. टीपी शर्मा, नीलकण्ठ तिवारी, कृष्णप्रसाद भण्डारी, एस गुरुङ, एन पोख्रेल, रामकुमार वान्तवा, एसआर उपाध्याय, सिताराम घले, चन्द्रबहादुर केसी, पुरुषोत्तम लामिछाने, कृष्णमान श्रेष्ठ, प्रभा बज्राचार्य, सुशील ढुङ्गाना, एन खत्री, प्रदीप राई, शरणकुमार गुरुङ, सरिना गुरुङ, अर्जुन श्रेष्ठ, ओमनारायण श्रेष्ठ, मणिरत्न श्रेष्ठ, डीएन रावल, एमभी भट्ट, एलए चौलागाईं, सीआर कार्की, एलआर लुङ्गेली, दीपेन्द्र खड्का, केआर जोशी, शङ्कर अधिकारी, रमेश रुपाखेती, पीके कुँवर, यादव खेरवार, हितमान बस्नेत, मङ्गल महर्जन, उमेश गौतम, आरबी गुरुङ, रमेशप्रसाद मैनाली, गोपाल श्रेष्ठ, दुर्गाप्रसाद चिमौरिया, ईश्वरप्रसाद पुडासैनी, गोपाल सिंह, डा. विष्णुहरि पण्डित र अन्जु शाह रहेका छन् ।
बुद्धिजीवी मूल समितिले देशभरका बुद्धिजीवी तथा पेशाकर्मीहरूलाई अपिल जारी गर्दै मुलुकमा गणतन्त्र, समावेशी लोकतन्त्र र जनताका मौलिक हकका रूपमा शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, स्वच्छ खानेपानी, खाद्यान्न, सामाजिक सुरक्षा तथा रोजगारीको अधिकार संवैधानिक रूपमा सुनिश्चित गर्न पार्टीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ ।
अपिलमा नवउदारवादी अर्थनीतिले गरिबी, बेरोजगारी, आय असमानता र आर्थिक शोषण बढाउँदै देशको आर्थिक विकासलाई पछाडि धकेलेको आरोप लगाइएको छ ।
उत्पादन र रोजगारी वृद्धि गर्दै समाजवादको आधार निर्माण गर्न आवश्यक रहेको समितिको ठहर छ । पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्र राष्ट्र र जनताप्रति उत्तरदायी रहेको दाबी पनि गरिएको छ ।
समितिले १ सय ६४ ओटै निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरूलाई विजयी गराउन देशभरका शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, श्रमिक, कर्मचारी, कानुन व्यवसायी, पत्रकारलगायत बुद्धिजीवी तथा पेशाकर्मीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
यसैबिच, २०८२ फागुन ९ गते शनिबार दिउँसो साढै १ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा. दीपेन्द्रबहादुर क्षेत्री, प्रा. डा. खगेन्द्र प्रसाईं र डा. मीना पौडेललगायत वक्ताहरूले पार्टीको प्रतिबद्धता पत्रमाथि विवेचना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका सम्पूर्ण बुद्धिजीवी, पेशाकर्मी तथा पत्रकारहरूलाई सक्रिय सहभागिताका लागि समितिले अनुरोध गरेको छ ।