पोखरा । दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा मानवअधिकार, नेतृत्व विकास तथा जनवकालतसम्बन्धी तीन दिने तालिम पोखरा महानगरपालिका–२७, तालचोकमा २०८२ माघ २८ गतेदेखि सुरु भएको छ ।
“जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” भन्ने नारासहित सञ्चालन गरिएको तालिम २०८२ फागुन १ गतेसम्म चल्नेछ ।
उद्घाटन सत्रमा बोल्दै फेडो केन्द्रीय कार्यालयका कार्यक्रम प्रबन्धक नरेश सोवले तालिम विशेषगरी सीपमूलक तथा क्षमता अभिवृद्धिमार्फत महिलाहरूको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको बताउनु भयो ।
उहाँका अनुसार मानवअधिकार, सामाजिक न्याय, आर्थिक तथा सांस्कृतिक अधिकारबाट पछाडि पारिएका व्यक्ति तथा समुदायका सवाललाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको हो ।

तालिममार्फत सहभागीहरूलाई आत्मनिर्भरता, उद्यमशीलता, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने, साथै नेतृत्व क्षमता अभिवृद्धि, जनवकालतका रणनीति र मानवअधिकार सुनिश्चितताका विविध पक्षबारे ज्ञान तथा सीप प्रदान गरिने कार्यक्रम रहेको सोवले जानकारी दिनु भयो ।
कार्यक्रममा फेडो गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायक र जिल्ला कोषाध्यक्ष बिना परियारले पनि आफ्ना धारणा राख्नुभएको थियो ।
फेडो कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा सञ्चालित तालिमको सञ्चालन कार्यक्रम संयोजक तनुजा परियारले गर्नुभएको थियो ।
तालिममा रूपा गाउँपालिकाका दलित, सिमान्तकृत तथा फेडोमा आबद्ध स्थानीय समुदायका ३० जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ ।