पोखरा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकी पोखरा महानगरपालिका-५ प्रस्याङ लक्ष्मीमार्ग निवासी २२ वर्षीया इन्जिनियर सृष्टि बाँस्तोला २२ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले धार्मिक संस्कारअनुसार उहाँको अन्तिम संस्कार गरेको छ ।
काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि २०८३ भदौ ९ गते नुवाकोटस्थित अपर त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पुग्नुभएकी सृष्टि २०८३ भदौ १० गते आएको बाढी तथा पहिरोपछि सम्पर्कविहीन हुनुभएको थियो ।
माधव बाँस्तोला र हरिमाया बाँस्तोलाकी जेठी छोरी सृष्टि इन्जिनियरिङ अध्ययन पूरा गरी दक्ष प्राविधिक जनशक्ति बन्ने तयारीमा हुनुहुन्थ्यो ।
२२ दिनसम्म खोजी तथा सम्पर्कको कुनै खबर प्राप्त नभएपछि परिवार र आफन्तले २०८३ असोज १ गते पोखराको तुल्सीघाटमा कुशको शव बनाएर धार्मिक विधिअनुसार अन्त्येष्टि गरेका हुन् । परिवारका सदस्यहरू अहिले क्रियाकर्ममा सहभागी भएका छन् ।
सृष्टिको निधनको खबरले परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा डुबेका छन् । सृष्टिसहित भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोमा ज्यान गुमाएका सबैप्रति परिवार तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
भोटेकोशी बाढीमा परेर २०८३ असोज १ गते साँझसम्म १ हजार ४ सय ३ जनाको मृत्यु भएको सरकारले पुष्टी गरेको छ भने ६ हजार १ सय ५० जना सम्पर्कविहिन् छन् ।