मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुर महानगरले स्वास्थ्य बीमा प्रिमियमको ४० प्रतिशत व्यहोर्ने

नगर प्रहरी, सरसफाइकर्मी, एकल महिला र टोल स्वास्थ्य उत्प्रेरकका लागि शतप्रतिशत प्रिमियम

ललितपुर ।

ललितपुर महानगरपालिकाले आफ्ना बासिन्दाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य बीमा प्रिमियमको ४० प्रतिशत हिस्सा स्वयम् व्यहोर्ने भएको छ ।

ललितपुर महानगरपालिका र राष्ट्रिय बीमा बोर्डबिच सम्पन्न समझदारीपत्रमा यस व्यवस्था गरिएको हो ।

समझदारीपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त हस्ताक्षर गर्नुभएको थियो ।

महानगरले नगर प्रहरी, सरसफाइकर्मी, सवारी चालक, एकल महिला तथा टोल स्वास्थ्य उत्प्रेरकको बीमा प्रिमियमको सम्पूर्ण लागत (१०० प्रतिशत) समेत व्यहोर्ने जनाएको छ ।

ललितपुर महानगरले दुई वर्षअघि पाटन अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । हाल बीमित नागरिकले यल स्वास्थ्य केन्द्रमार्फत सेवाहरू लिइरहेका छन् ।

महानगर प्रमुख महर्जनले पाटन अस्पतालसँगको सहकार्यबाट स्वास्थ्य क्षेत्रमा नवीन प्रयासहरू अघि बढाइएको बताए । उहाँले भन्नु भयो-“महानगरले प्रदान गर्ने स्वास्थ्य सेवा यहींबाट सुरु भएको हो ।”

महानगर प्रवक्ता राजु महर्जनले ललितपुर महानगर स्वास्थ्य बीमाको प्रिमियम बेहोर्ने पहिलो स्थानीय तह भएको उल्लेख गर्दै यस कदमले महानगरको सामाजिक उत्तरदायित्व र जनस्वास्थ्यप्रतिको संवेदनशीलता प्रष्ट भएको बताउनु भयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा बीमा कार्यक्रमको भूमिका उल्लेखनीय रहेको बताउँदै ४० प्रतिशत प्रिमियम व्यहोर्ने निर्णय ऐतिहासिक रहेको टिप्पणी गर्नु भयो ।

बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यो निर्णय अन्य ७ सय ५२ स्थानीय तहका लागि अनुकरणीय बन्ने विश्वास व्यक्त गर्नु भयो ।

Author

Related News